२८ आश्विन २०८३, बुधबार

काठमाडौंमा ग्यासको कालोबजारी : २६ सयमा सिलिन्डर बेच्ने पसललाई ३ लाख जरिवाना

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्यासको चरम अभाव र कालोबजारी चुलिएका बेला वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ठगी गर्ने व्यवसायीमाथि कारबाही थालेको छ ।

अभावको मौका छोपी प्रतिसिलिन्डर २ हजार ६ सय रुपैयाँमा ग्यास बिक्री गर्ने काठमाडौंको मूलपानीस्थित बाबा चोकमा रहेको ‘अनिल खाद्य किराना पसल’लाई विभागले बिहीबार ३ लाख रुपैयाँ जरिवाना गरेको छ ।

गोप्य उजुरीका आधारमा खटिएको विभागको अनुगमन टोलीले सुगम ग्यास निर्धारित मूल्यभन्दा निकै बढीमा बिक्री गरेको प्रमाण भेटिएपछि उपभोक्ता संरक्षण ऐनबमोजिम उक्त जरिवाना गराएको निर्देशक अनिल किराँतीले जानकारी दिए । विभागले यसअघि गत मंगलबार पनि ग्यासमा कालोबजारी गर्ने अर्का एक व्यवसायीलाई ३ लाख रुपैयाँ जरिवाना गराएको थियो ।

गत असार अन्तिम सातादेखि नै उपत्यकामा ग्यासको सहज आपूर्ति हुन सकेको छैन । पछिल्लो समय भोटेकोशीको हिमबाढी र पृथ्वी राजमार्गको कृष्णभीरमा खसेको पहिरोका कारण आपूर्ति शृङ्खला पूर्ण रूपमा प्रभावित भएको छ ।

कृष्णभीरमा सडक अवरुद्ध हुँदा ग्यास बुलेट उपत्यका भित्रिन नसकेपछि व्यवसायीहरूले हेटौँडा, वीरगन्ज, नवलपरासी र धनुषाजस्ता वैकल्पिक नाकाबाट ग्यास उपत्यका ल्याइरहेका छन् ।

नेपाल आयल निगमका अनुसार उपत्यकामा सामान्य अवस्थामा दैनिक ३५ हजारदेखि ४० हजार सिलिन्डर ग्यास खपत हुने गरेकोमा अहिले दैनिक औसत ३० हजार सिलिन्डर मात्र भित्रिने गरेको छ । वैकल्पिक मार्ग प्रयोग गर्दा ढुवानी लागत बढेको जनाउँदै एलपी ग्यास उद्योग सङ्घले निगमले तोकेको प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँमा थप १०५ रुपैयाँ ३८ पैसा जोडेर बिक्री गर्न आग्रह गरेको छ ।

ग्यास पाउन छाडेपछि उपभोक्ताहरू प्रतिसिलिन्डर २ हजार ६ सयदेखि ३ हजार रुपैयाँसम्म तिर्न बाध्य भएका छन् । यद्यपि, अनुचित व्यापारिक क्रियाकलाप र कालोबजारी रोक्न ग्यास उद्योग तथा डिपोहरूमा केन्द्रित भई बजार अनुगमनलाई तीव्र पारिएको विभागले जनाएको छ ।