३१ आश्विन २०८३, शनिबार

एमाले सांसदले १५ दिनको पारिश्रमिक बाढीपीडितलाई सहयोग गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले) का संघीय सांसदहरूले १५ दिनको पारिश्रमिक बाढीपीडितको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गर्ने भएका छन्।

मंगलबार बसेको संसदीय दलको बैठकले गरेको निर्णयबाट १२ लाख रुपैयाँभन्दा बढी रकम संकलन हुने एमाले प्रमुख सचेतक ऐनबहादुर महरले जानकारी दिए। एमालेले यसअघि पनि बाढीपीडितका लागि १ करोड २० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरिसकेको छ।

बैठकले बाढीपछिको उद्धार, राहत, शव व्यवस्थापन र बेपत्ताको खोजीमा सरकारको काम प्रभावकारी नभएको निष्कर्ष निकाल्दै संसदीय विशेष समिति गठनको माग गर्ने निर्णयसमेत गरेको छ।

महरका अनुसार बुधबार बस्ने प्रतिनिधिसभा बैठकमा एमालेले विशेष समिति गठनको माग गर्नेछ। समितिमार्फत उद्धार तथा राहतको अवस्थाको अनुगमन र सरकारसँग आवश्यक समन्वय गरिनेछ।

एमालेले बाढीमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।