३१ आश्विन २०८३, शनिबार

प्रधानमन्त्रीले दिए फेहरिस्त : बाढी गएको पाँच दिनसम्ममा के-के काम भयो, के–के हुँदैछन् ?

सोमबार मध्यान्हसम्म ५ अर्ब ८७ करोड ९२ लाख २३ हजार ८४२ रुपैयाँ सहयोग जम्मा

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि सरकारले खोज, उद्धार, उपचार, राहत तथा पुनःस्थापनाको कामलाई तीव्रता दिएको जनाएको छ। बाढी गएको पाँच दिनमा प्रभावित क्षेत्रबाट ११ हजार ३७९ जनाको उद्धार गरिएको प्रधानमन्त्री बालेन्द्र शाहले जानकारी दिएका छन्।

प्रधानमन्त्री शाहका अनुसार उद्धार गरिएकामध्ये २७९ जना घाइतेलाई विभिन्न अस्पतालमा उपचारका लागि भर्ना गरिएकोमा १६८ जना डिस्चार्ज भइसकेका छन्। अझै ३ हजार ९२५ जना सम्पर्कविहीन रहेको र उनीहरूको खोजी जारी रहेको उनले बताएका छन्।

सरकारले रसुवा र नुवाकोटका प्रभावित नागरिकका लागि राहत वितरणलाई पनि तीव्र बनाएको छ। रसुवा, नुवाकोट र धादिङका चार वटा संकलन केन्द्रमार्फत संकलित राहत २७ वटा वितरण केन्द्रबाट ३ हजार ६९६ जना प्रभावितसम्म पुर्‍याइएको प्रधानमन्त्री शाहले जनाएका छन्। भारत, चीन, अमेरिका, यूएई, कतार, जापान, स्वीट्जरल्याण्ड र अष्ट्रेलियालगायत मित्रराष्ट्रबाट समेत राहत तथा सहयोग प्राप्त भइरहेको सरकारको भनाइ छ।

बाढीका कारण अवरुद्ध सडक सञ्जाल पुनः सञ्चालनमा ल्याउने काम पनि अघि बढेको छ। नुवाकोटको त्रिशूलीपारिको क्षेत्रमा गल्छी–त्रिशूली राजमार्गअन्तर्गतको सडक सञ्चालनमा ल्याइएको छ। क्षतिग्रस्त पुलका कारण प्रभावित आवागमन सहज बनाउन सरकारले बेलिब्रिज जडानलाई प्राथमिकता दिएको छ। भारतबाट २३० फिटको मोडुलर स्टिल ब्रिज प्राप्त भएको र थप सात वटा बेलिब्रिज आउने तयारी रहेको जनाइएको छ। चीनबाट समेत ३० वटा बेलिब्रिज प्राप्त हुने सरकारको दाबी छ।

विद्युत् र सञ्चार सेवा पुनःस्थापनाको कामसमेत अघि बढेको छ। नुवाकोटमा ८५ प्रतिशत क्षेत्रमा विद्युत् सेवा पुनःस्थापना भइसकेको र बाँकी क्षेत्रमा आगामी पाँच दिनभित्र सेवा पुर्‍याउने लक्ष्यसहित काम भइरहेको प्रधानमन्त्री शाहले बताएका छन्। धादिङमा ९८ प्रतिशत विद्युत् सेवा पुनःस्थापना भइसकेको र दुई दिनभित्र सबै क्षेत्रमा सेवा पुर्‍याउने लक्ष्य राखिएको छ। रसुवामा भने करिब ३० प्रतिशत घरधुरीमा विद्युत् पुगेको तथा बाँकी प्रभावित क्षेत्रमा पोर्टेबल सोलारमार्फत सेवा उपलब्ध गराउने तयारी भइरहेको छ।

सञ्चारतर्फ नेपाल टेलिकमका १२० मध्ये ११० र एनसेलका ७८ मध्ये ७५ वटा टावर सञ्चालनमा आइसकेका छन्। यसबाट प्रभावित क्षेत्रमा सञ्चार सम्पर्क क्रमशः सहज बन्दै गएको सरकारले जनाएको छ।

बाढीबाट प्रभावित जलविद्युत् आयोजनामा फसेका तथा सम्पर्कविहीन भएकाहरूको खोजी र उद्धारलाई पनि प्राथमिकता दिइएको छ। नेपाली सेनाले विभिन्न जलविद्युत् आयोजनाबाट २७९ जनाको उद्धार गरिसकेको छ। रसुवागढी, माथिल्लो त्रिशूली–१, मैलुङ खोला, माथिल्लो त्रिशूली–३ ए, ३ बी, त्रिशूली, सौर्य तथा देवीघाटलगायत आयोजनामा खोज तथा उद्धारको काम भइरहेको प्रधानमन्त्री शाहले बताएका छन्। केही आयोजनामा नेपाली सेनासँगै चिनियाँ, भारतीय र कोरियन उद्धार टोलीले समेत सहयोग गरिरहेका छन्।

बाढीमा ज्यान गुमाएकाको शव पहिचान तथा व्यवस्थापनको काम पनि भइरहेको छ। पहिचान भएका शव आफन्तको जिम्मा लगाउने र पहिचान हुन नसकेका शवलाई कानुनी तथा वैज्ञानिक प्रक्रिया पूरा गरेर व्यवस्थापन गर्ने काम भइरहेको सरकारको भनाइ छ।

सरकारले तत्कालीन उद्धारसँगै अब पुनःस्थापनाको तयारी पनि अघि बढाएको जनाएको छ। स्थानीय तहसँगको समन्वयमा प्रभावित नागरिकको संख्या तथा भौतिक क्षतिको विवरण संकलन सुरु गरिएको छ। घर, परिवार तथा जायजेथा गुमाएका नागरिकलाई पुनःस्थापना गरी सामान्य जनजीवनमा फर्काउने गरी आवश्यक स्रोत जुटाउने काम भइरहेको प्रधानमन्त्री शाहले बताएका छन्।

प्रधानमन्त्री शाहले भोटेकोशीको बाढी हिमालय क्षेत्रमा जलवायु परिवर्तनका कारण बढ्दै गएको जोखिमको संकेत भएको बताएका छन्। उनले यस विपद्बारे अन्तर्राष्ट्रिय समुदायसँग जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको जोखिम र क्षतिका विषयमा थप बलियो रूपमा कुरा उठाउनुपर्ने आवश्यकता रहेको उल्लेख गरेका छन्।