काठमाडौं । पछिल्लो समय बढिरहेको बलात्कार तथा यौन हिंसाका घटनाविरुद्ध आवाज उठाउँदै गायक सागर सुनारको नयाँ र्याप गीत ‘अस्मिता गायब’ सार्वजनिक भएको छ । गीतमार्फत बलात्कारजस्तो जघन्य अपराधविरुद्ध खबरदारी गर्दै पीडितप्रति संवेदना र न्यायको पक्षमा आवाज उठाइएको छ ।
मंगलबार गायक सुनारको आफ्नै ‘सागर सुनार’ नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतमा शब्द तथा र्याप स्वयं सुनारको रहेको छ । गीतमा गायिका स्वस्तिका सुनारको पनि स्वर रहेको छ ।
‘अस्मिता गायब’ केवल मनोरञ्जनका लागि तयार गरिएको गीत नभई समाजमा हुने यौन हिंसा र बलात्कारका घटनामाथि प्रश्न उठाउने प्रयासका रूपमा प्रस्तुत गरिएको छ ।
गीतका शब्दमार्फत बलात्कारपछि पीडितले भोग्नुपर्ने पीडा, सामाजिक दृष्टिकोण तथा घटनालाई हेर्ने समाजको संवेदनशीलतामाथि प्रश्न गरिएको छ ।
विशेषगरी बलात्कारका घटनामा पीडितमाथि नै प्रश्न उठाउने, दोष थोपर्ने प्रवृत्तिप्रति गीतले व्यङ्ग्य गरेको छ ।
गीतको भिडियोमा विकास बराइली, कपिलकुमार दाहाल र सञ्जिता सुनारले अभिनय गरेका छन् । भिडियोमार्फत बलात्कार तथा यौन हिंसाले व्यक्तिको जीवनमा पार्ने गम्भीर प्रभावलाई चित्रण गर्ने प्रयास गरिएको छ ।
गायक सुनारका अनुसार ‘अस्मिता गायब’गीत बलात्कार तथा यौन हिंसाका कारण अकालमै ज्यान गुमाएका सम्पूर्ण चेलीहरूप्रति समर्पित गरिएको छ ।
उनका अनुसार बलात्कारका घटनालाई सामान्य अपराधका रूपमा नहेरी त्यसविरुद्ध समाजका सबै तहबाट आवाज उठाउन आवश्यक छ । पीडितलाई दोषी देखाउने सामाजिक प्रवृत्तिको अन्त्य गर्दै अपराधीलाई कानुनी दायरामा ल्याउनुपर्ने सन्देश गीतले दिएको छ ।
गीतको भिडियोको कोरियोग्राफी तथा निर्देशन मिराक लिंग्डम लिम्बुले गरेका हुन् भने भिडियोको सम्पादन पवन चन्दले गरेका छन् ।















प्रतिक्रिया