काठमाडौं । नेपाली काँग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू प्रजातन्त्रको खिलाफमा जान नमानेपछि जेल जानु परेको बताएका छन् ।
आज इतर पक्षले आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले त्यो बेलामा पनि आफूलाई न्यायालयले जिताएको र अहिले पनि अदालतबाट नै न्याय पाउने बताएका हुन् ।
‘पूर्वराजा ज्ञानेन्द्रका धेरै कुरा आएको छ। मैले भनेकै हो। सरकार हुकुम मान्न तयार छ। म प्रजातन्त्रको खिलाममा जान सक्दिन भनेकै हो। त्यसपछि मलाई जेल हाल्यो,’ उनले भने, ‘त्यति बेला मलाई न्यायालयले जिताएको हो। मलाई न्यायालयप्रति अटुट विश्वास छ। अहिले पनि अदालतबाट न्याय पाउँछु भन्ने विश्वास छ। गणतन्त्र ल्याउनेमा राजाको ठूलो हात छ।’
विशेष महाधिवेशनका नाममा कांग्रेसलाई कमजोर बनाइएको उनको भनाइ छ ।
उनले भने, ‘लामो इतिहास बोकेको नेपाली कांग्रेसमा अहिले चरम विवादको अवस्था छ । विशेष महाधिवेशनका नाममा पार्टीलाई कमजोर बनाउने गरी विधि, विधान, पद्दति मिच्ने काम भएको छ । यो विषय अहिले सम्मानित सर्वोच्च अदालतमा पुनरावलोकन भइरहेकाले थप टिप्पणी गर्न चान्न । सर्वोच्चबाट हामीलाई न्याय मिल्नेमा म पूर्ण विश्वस्त छु ।’
वि.सं. २००७ सालको संघर्षदेखि वर्तमान युवा पुस्तासम्म सबै पुस्ता अटाएको पार्टी कांग्रेस भएको स्मरण गर्दै देउवाले कांग्रेसभित्र चरम विवाद हुँदा समग्र मुलुकको राष्ट्रियता र लोकतन्त्र कमजोर हुने जोखिम रहने बताए । असहमतिहरूलाई सम्बोधन गर्दै सबैलाई न्याय हुने गरी बृहत्तर एकतामा बाँधिनुपर्ने र यसमा कुनै व्यक्तिविशेष केन्द्रित हुन नहुने उनको भनाइ छ ।
देउवाले संविधानको कार्यान्वयनमा देखिएका कठिनाइहरूको अनुभवका आधारमा बृहत्तर राष्ट्रिय सहमति खोजी संविधानप्रदत्त व्यवस्था अनुसार निकास दिन पहल गर्ने प्रतिबद्धता जनाए । साझा उद्देश्य र संकल्प भएका सबै राष्ट्रिय राजनीतिक शक्तिहरूसँग सहकार्य गर्न तयार रहेको उनको भनाइ छ ।
उनले बीपी कोइरालाले देखाएको राष्ट्रिय एकता र मेलमिलापको नीति वर्तमान समयमा अझ बढी सान्दर्भिक भएको धारणा राखेका छन् । पार्टीभित्र विश्वासको वातावरण बनाउदै एकताबद्ध भएर मुलुकको लोकतान्त्रिक पद्धतिको रक्षा गर्न कांग्रेस सफल हुने उनको भनाइ छ ।















प्रतिक्रिया