३१ आश्विन २०८३, शनिबार

धनुषा सीमाबाट नेपाल प्रवेश गर्न परिचय खुल्ने कागजात अनिवार्य

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम। धनुषा जिल्लाबाट नेपाल प्रवेश गर्ने सबै नागरिकले अब आफ्नो पहिचान पुष्टि गर्ने परिचयपत्र अनिवार्य रूपमा साथमा राख्नुपर्ने भएको छ। जिल्ला सुरक्षा समितिको आइतबार बसेको बैठकले सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन यस्तो व्यवस्था लागू गर्ने निर्णय गरेको हो।

जिल्ला प्रशासन कार्यालयका अनुसार भारततर्फबाट धनुषाका सीमा नाकामार्फत नेपाल प्रवेश गर्ने प्रत्येक व्यक्तिको विवरण सुरक्षा निकायले अभिलेख राख्नेछ। त्यसका लागि नागरिकता, मतदाता परिचयपत्र, राहदानी वा अन्य सरकारी निकायबाट जारी भएको परिचय खुल्ने कागजात प्रस्तुत गर्नुपर्ने व्यवस्था गरिएको छ।

यसैबीच, धनुषामा केही दिनदेखि लागू गरिएको निषेधाज्ञा सोमबार बिहान ५ बजेदेखि हटाइने निर्णय पनि गरिएको छ। आन्दोलनरत हिन्दुवादी संघ–संस्थाहरू र सरकारबीच सहमति भएपछि आन्दोलनका कार्यक्रम स्थगित गर्ने प्रतिबद्धता आएसँगै निषेधाज्ञा अन्त्य गर्ने निर्णय गरिएको प्रशासनले जनाएको छ।

पछिल्ला दिनहरूमा सुनसरीको कप्तानगञ्जमा भएको घटनापछि मधेश प्रदेशका विभिन्न जिल्लामा प्रदर्शन र विरोधका कार्यक्रम चर्किएका थिए। त्यसको प्रभाव धनुषामा पनि देखिएपछि सम्भावित अप्रिय घटना रोक्न स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको थियो।

प्रशासनले निषेधाज्ञा हटाइए पनि सीमा क्षेत्रमा सुरक्षा सतर्कता भने यथावत् रहने जनाएको छ। साथै, सर्वसाधारणलाई कानुनको पालना गर्दै शान्ति र सामाजिक सद्भाव कायम राख्न सहयोग गर्न आग्रह गरिएको छ।