–सञ्जय मिश्रा
रौतहट । जेनजी आन्दोलनका क्रममा गौर कारागारबाट फरार भएका बलात्कार तथा हत्या अभियोगमा २० वर्ष कैद सजाय भुक्तान गरिरहेका एक कैदीलाई रौतहट प्रहरीले पुनः पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रौतहटका कटहरिया नगरपालिका–७ बगही निवासी ३० वर्षीय प्रभु माझी रहेका छन् । उनी २०८२ साल भदौ २४ गते जेनजी आन्दोलनका बेला गौर कारागारबाट फरार भएका थिए ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी बसन्त गौतमका अनुसार गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहट र इलाका प्रहरी कार्यालय शिवनगरबाट खटिएको संयुक्त टोलीले खोजी अभियान सञ्चालन गरेको थियो । सोही क्रममा शुक्रबार राति करिब ११ः३० बजे कटहरिया–७ बगहीबाट माझीलाई नियन्त्रणमा लिइएको हो ।
प्रहरीका अनुसार माझीले २०६८ फागुन २५ गते तत्कालीन बगही गाविस–६ (हाल कटहरिया नगरपालिका–७)मा पाँच वर्षीया बालिकालाई जबरजस्ती करणी गरी हत्या गरेको अभियोगमा सर्वोच्च अदालतबाट २० वर्ष कैद सजायको अन्तिम फैसला पाएका थिए । त्यसयता उनी गौर कारागारमा कैद भुक्तान गरिरहेका थिए ।
जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेपछि फरार रहेका माझीलाई पक्राउ गरी बाँकी कैद सजाय भुक्तानका लागि पुनः कारागार कार्यालय गौरमा बुझाउने प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।










प्रतिक्रिया