काठमाडौं । देशभर भइरहेको लगातारको वर्षाका कारण विभिन्न स्थानमा मुख्य राजमार्ग तथा सडक खण्डहरू पूर्ण तथा आंशिक रूपमा अवरुद्ध भएका छन् ।
नेपाल प्रहरीका अनुसार शनिबार बिहानसम्म बाढी, पहिरो र लेदो खसेका कारण विभिन्न ठाउँमा आवतजावतमा रोक लगाइएको छ । बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने खुर्कोट-नेपालथोक–कटुन्जेबेँसी सडक खण्डमा सम्भावित बाढीलाई मध्यनजर गर्दै रातिको समयमा सवारीसाधन चलाउन रोक लगाइएको छ । बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सम्पूर्ण सवारीसाधनको आवतजावतमा रोक लगाइएको भए पनि बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म भने सवारीसाधन सुचारु हुनेछन् ।
त्यसैगरी, वर्षातका कारण मकवानपुरस्थित कान्ति लोकपथमा पनि रातिको समयमा सबै किसिमका सवारीसाधन चलाउन रोक लगाइएको छ र बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म अर्को सूचना नभएसम्मका लागि आवतजावत बन्द गरिएको छ ।
इलाम नगरपालिका–९ राजदुवालीमा वर्षाका कारण बाटो हिलो भई सवारीसाधन आवतजावत गर्न नसक्ने भएपछि मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ, यद्यपि सो स्थानमा वैकल्पिक बाटोको व्यवस्था गरिएको छ ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ जिरोकिलोमा सडक माथिबाट पहिरो खसेर अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ भने सोही गाउँपालिका–२ कोदारीस्थित ईकु पहिरोमा पनि सडक माथिबाट ढुंगा र माटो सहितको लेदो खस्दा बाटो पूर्ण रूपमा बन्द भएको छ ।
बागलुङको जैमिनी नगरपालिका–८ बेलबगरस्थित कालीगण्डकी करिडोर सडक खण्डमा माथिबाट ढुंगा र माटोसहितको पहिरो खसेका कारण बाटो पूर्ण रूपमा अवरुद्ध भएको छ ।
दोलखाको तामाकोशी गाउँपालिका–५ किर्नेटारस्थित लामासाघु–रामेछाप राजमार्गमा तामाकोशी खोलाको पानीको बहाव बढेर कटान गर्दा सडक अवरुद्ध भएको छ, तर खिम्ती ग्रामीण विद्युत सहकारी संस्थाको कार्यालयको परिसरबाट वैकल्पिक बाटो खुलाइएको छ।
यस्तै, रसुवाको गोसाइकुण्ड गाउँपालिका–३ कुलुङमा पहिरो जाँदा पासाङ ल्हामु सडक खण्ड पूर्ण रूपमा बन्द भएको छ भने उत्तरगया गाउँपालिका–५ खाल्टेमा त्रिशुली नदीले सडक मुनीबाट कटान गरेपछि त्रिशुली मैलुङ स्याफ्रुबेँसी जाने कच्ची सडक खण्ड पनि पूर्ण रूपमा अवरुद्ध भएको छ ।
यसैगरी, मुगुको छायानाथ रारा नगरपालिका–७ पिना खोलास्थित नाग्म-गमगडी सडक खण्डमा माथिबाट ढुङ्गासहितको पहिरो निरन्तर खसिरहेका कारण बाटो पूर्ण रूपमा अवरुद्ध भएको छ ।










प्रतिक्रिया