–प्रमिला कार्की
भक्तपुर । बिहानको व्यस्त समय । राधेराधे चोकमा सवारीसाधनको लामो लाइन छ । कोही भक्तपुरतर्फ हतारिँदै छन्, कोही काठमाडौं फर्किरहेका छन् । सडक किनारका चिया पसल खुलिसकेका छन् । यात्रुहरू बसको प्रतीक्षामा छन् । वरपरको चहलपहलले चोकलाई जीवन्त बनाइरहेको छ ।
तर, यही कोलाहल र क्रंक्रिटहरुको बीचमा एउटा संरचना भने वर्षौंदेखि मौन उभिएको छ । निर्माणकै क्रममा रोकिएको उक्त संरचना अर्थात १७ तले विशाल भवन दिनप्रतिदिन खण्डहर बन्दै गएको छ । दशक अघिदेखि निर्माण रोकिएको भवनको वास्तविकता भने अझै रहस्यमै छ ।

राधेराधे चोकस्थित ६ रोपनी तीन आना क्षेत्रफलमा बनेको सो भवनको निर्माण २०६७ सालदेखि सुरु भएको हो । ठूलो व्यापारिक भवन निर्माण हुने र आर्थिक गतिविधि बढ्ने अनुमान गरेका स्थानीय भने लामो समयसम्म निर्माण ठप्प हुँदा आश्चर्य चकित छन् ।
काठमाडौंबाट भक्तपुर प्रवेश गर्ने जो–कोहीको नजर यो भवनमा पर्ने गर्छ । अग्लो संरचना, अधुरा झ्याल, खुला कंक्रिट, माथितिर उम्रिएको झार र लेउ सुकेर देखिएको कुरुप दृश्यले धेरैको ध्यान भने तानिरहेको छ ।
भवन कुनै समयको महत्वाकांक्षी योजनाको साक्षी बनेर उभिएको थियो । तर, निर्माण सुरु भएको करिब दुई दशक बितिसक्दा पनि निर्माण पूरा हुन सकेन भन्ने प्रश्नको उत्तर अझै स्पष्ट छैन ।

राधेराधेका स्थानीयका लागि यो भवन कुनै नयाँ दृश्य होइन । बरु उनीहरूको दैनिक जीवनको अभिन्न हिस्सा बनिसकेको छ । कसैलाई लोकेशन वा बाटो देखाउनुपरे ‘त्यो ठूलो भवन नजिक’ भन्नु सबैभन्दा सहज चिनारी हो । एम्बुलेन्स बोलाउन होस् वा ठेगाना दिन, यही भवन सबैभन्दा पहिला सम्झिने आधार बनेको छ ।
राधेराधेको पहिचान बनेको यही भवन किन अधुरै रह्यो भन्ने जिज्ञासा भने अझै मेटिएको छैन । यात्रु वा स्थानीयबासी भवन निर्माण रोकिनुको कारण भने खोजिरहेका छन् । तर स्पष्ट उत्तर अझै भेटाउन सकेका छैनन् ।
यही जिज्ञासाको उत्तर खोज्ने उद्देश्यले हामी स्थलगत रिपोर्टिङका लागि राधेराधे पुग्यौँ । स्थानीयसँग कुराकानी, भवनको प्रत्यक्ष अवलोकन तथा सम्बन्धित निकायको धारणा बुझ्ने प्रयासमार्फत किन वर्षौंदेखि अलपत्र पर्यो यो भवन भनेर तथ्य खोज्ने प्रयास गर्यौँ ।
त्यस क्रममा हामीसँगको कुराकानीमा स्थानीय ६२ वर्षीय एक पुरुष सम्झिन्छन्, ‘मेरो छोराछोरी साना हुँदा यो भवन बन्न सुरु भएको थियो । अहिले उनीहरू आफैं अभिभावक भइसके । तर भवन भने त्यहीँको त्यहीँ छ । यसको वास्तविकता हामीले अझै पत्तो पाएका छैनौँ,’ उनले सुनाए ।
भवन निर्माण सुरु हुँदा स्थानीयमा ठूलो उत्साह थियो । यहाँ पाँचतारे होटल सञ्चालन हुने, व्यापारिक केन्द्र बन्ने, सयौं युवाले रोजगारी पाउने र राधेराधेको आर्थिक गतिविधि नयाँ उचाइमा पुग्ने अपेक्षा गरिएको थियो ।

वरपरको जग्गाको मूल्य पनि बढ्न थालेको थियो। स्थानीय व्यवसायीहरूले व्यापार विस्तारको योजना बनाउन थालेका थिए। तर मुख्य संरचना ठडिएपछि निर्माण कार्य रोकियो र त्यसपछि यो परियोजना फेरि अघि बढ्न सकेन ।
अहिले भवनका अधिकांश झ्याल खाली छन् । कतै फलामका डन्डी बाहिर निस्किएका छन् । वर्षौंदेखिको घामपानीले कंक्रिटको रङ फिक्का बनाइसकेको छ । माथिल्ला तलातिर झार उम्रिएको देखिन्छ । विशाल भवन भए पनि अहिले यसको पहिलो तलाको एउटा भागमा मात्र रेखदेखका लागि बस्ने परिवार रहेको छ । बाँकी सबै तलाहरू सुनसान छन् ।
स्थानीय व्यापारी भन्छन्, ‘पहिला–पहिला सबैले केही महिनामै काम फेरि सुरु हुन्छ भन्ने गर्थे । अहिले त कसैले त्यसबारे कुरा पनि गर्दैनन् । भवन निर्माण पूर्ण हुन्छ भन्नेमा आशा मरिसक्यो ।’
अर्की एक स्थानीय महिलाले पनि वर्षौंदेखिको निराशा व्यक्त गर्दै भनिन्, ‘यो भवन २० वर्षदेखि यस्तै देखिरहेको छु । खोइ किन अलपत्र पारेका हुन् । नगरपालिकाले मापदण्ड पूरा नभएर रोकेको भन्ने सुनेका हौँ । अहिले केही काम भइरहेको छ कि भन्ने मात्रै हो ।’
गोविन्दाको भवन भन्ने हल्ला, वास्तविकता अर्कै
राधेराधेको यो भवनसँग जोडिएको अर्को चर्चित हल्ला भने भारतीय अभिनेता गोविन्दाको नाम हो । धेरै मानिसले यसलाई ‘गोविन्दाको भवन’ भनेर चिन्ने गरेका छन् ।
तर, जानकारहरूका अनुसार गोविन्दा निर्माणस्थल अवलोकनका लागि एकपटक आएका कारण यस्तो चर्चा फैलिएको हो । वास्तविक रूपमा यो परियोजना नेपाली व्यावसायिक घराना जगदम्ब ग्रुप तथा अन्य लगानीकर्तासँग सम्बन्धित रहेको बताइन्छ ।
निर्माण कार्य करिब सन् २०१७ तिर पूर्ण रूपमा रोकिएको मानिन्छ । परियोजना रोकिनुका पछाडि विदेशी लगानीसँग सम्बन्धित प्रक्रिया, लगानीकर्ताबीचको विवाद, आर्थिक व्यवस्थापनका चुनौती तथा कानुनी जटिलता मुख्य कारणका रूपमा चर्चा हुने गरेका छन् । यद्यपि सम्बन्धित पक्षबाट विस्तृत सार्वजनिक जानकारी भने हालसम्म आएको छैन ।
भवनभित्रको दृश्य : रहस्य र सन्नाटा
स्थलगत रिपोर्टिङका क्रममा हामी उक्त भवनसम्म पुग्यौँ । स्थलगत रिर्पोटिङमा हामीले भवनको मुख्य गेटसँगै एउटा सानो पसल पनि देख्यौँ । त्यही पसल हुँदै भित्र प्रवेश गर्नुपर्ने रहेछ । तर भित्र जान भने त्यति सहज हामीलाई थिएन ।
बाहिरबाट हेर्दा भवन सामान्य देखिए पनि त्यसबारे फैलिएका अनेक चर्चा र जिज्ञासाले त्यहाँको वातावरण केही रहस्यमय महसुस हुन्थ्यो ।
हामीले सामान्य रूपमा भित्र जाने बाटोबारे सोध्नासाथ पसलमा रहेकी एक महिला असहज र आक्रोशित देखिइन् ।
हामीले आफू सञ्चारकर्मी भएको र भवनबारे जानकारी लिन मात्र आएको बताउँदा पनि उनले थप केही बोल्न चाहिनन् । बरु भित्र जान नदिने अडान दोहोर्याइन् ।
उनले चर्को स्वरमा भनिन्, ‘यहाँ भित्र कोही पस्न मिल्दैन । फोटो–भिडियो केही खिच्ने होइन ।’
हामीले केवल भवनको अवस्थाबारे जानकारी लिन र त्यहाँ रहेका व्यक्तिसँग केही कुरा गरेर फर्किने बताएपछि मात्र भित्र जाने अवसर मिल्यो ।

भित्र प्रवेश गर्दा पहिलो तलामा एक पुरुष भवन सफा गरिरहेका थिए । हामी पुग्नासाथ उनले पनि ‘यहाँ त कोही आउन मिल्दैन नि,’ भन्दै सतर्क गराए ।
उनीसँग कुराकानी गर्ने क्रममा हामीले सोध्यौँ, ‘हजुर यहीँ बस्नुहुन्छ ?’
उनले छोटो जवाफ दिए, ‘हो, म यो भवनको रेखदेखका लागि बसेको हुँ । तर हामीले केही बोल्न मिल्दैन ।’
त्यसपछि हामीले अर्को प्रश्न गर्यौँ, ‘यो विदेशीको भवन हो भन्ने सुनिन्छ, वास्तवमा कसको हो ?’
उनले स्पष्ट पार्दै भने, ‘होइन, विदेशीको होइन । यो जगदम्बाको हो । उहाँहरूले नै हामीलाई रेखदेखका लागि राख्नुभएको हो । अरू कुरा उहाँहरूलाई नै सोध्नुस् ।’ तर जगदम्बा ग्रुपका आधिकारिक व्यक्तिहरु सम्पर्कमा आउन चाहेनन् ।

त्यसपछि उनी थप केही नबोली आफ्नो कामतर्फ फर्किए । भवनभित्र चारैतिर हेर्दा सन्नाटा मात्रै थियो । अधुरा कोठा, खुला पिलर, धुलो र चिस्यानले भरिएको वातावरणले कुनै समय ठूलो लगानी गरिएको परियोजना अहिले कति उपेक्षित अवस्थामा पुगेको छ भन्ने स्पष्ट देखिन्थ्यो । विशाल संरचना भए पनि त्यसमा जीवनको कुनै संकेत थिएन । बरु, लामो समयदेखि प्रयोगविहीन रहेको भवनमा प्रवेश गर्दा त्रासपूर्ण अनुभूति भइरहेको थियो ।
पत्रकारमाथि किन बन्देज ?
भवनको अवस्थाभन्दा पनि अर्को प्रश्नले ध्यान खिच्यो— आखिर पत्रकारलाई भवनभित्र प्रवेश गर्न किन रोक लगाइएको छ ?
सामान्य जानकारी लिन जाँदा पनि फोटो वा भिडियो खिच्न नदिने, प्रश्न गर्दा उत्तर दिन नचाहने र सम्बन्धित व्यक्तिले सार्वजनिक रूपमा केही पनि बोल्न नमिल्ने प्रतिक्रिया दिनुले यो परियोजनाप्रति थप जिज्ञासा पैदा गर्छ । परियोजनाप्रति रहस्यमय र शंका जन्माउने प्रशस्त प्रश्नहरु उब्जिरहेका छन् ।
यदि परियोजना कानुनी प्रक्रियामै रहेको हो भने त्यसबारे स्पष्ट जानकारी सार्वजनिक गर्न सम्बन्धित पक्ष किन तयार छैन ? र यदि भवनको भविष्यबारे योजना बनिरहेको छ भने स्थानीय समुदायलाई त्यसबारे किन जानकारी दिइएको छैन ? यी प्रश्न अझै अनुत्तरित छन् ।
नगरपालिकाको प्रतिक्रिया पनि अस्पष्ट
यस विषयमा मध्यपुगर थिमि नगरपालिकाको धारणा बुझ्न खोज्दा पनि स्पष्ट जवाफ प्राप्त हुन सकेन ।
नगरपालिकाका प्रवक्ता कृष्णहरि आचार्यले भने, ‘अहिले यस विषयमा केही बोल्दैनौँ । इन्जिनियरिङ कलेजसँग मिलेर अध्ययन भइरहेको छ । प्रतिवेदन आएपछि त्यसबारे कुरा गरौँला ।’
यस प्रतिक्रियाले भवनको अवस्था अध्ययनको चरणमा रहेको संकेत गरे पनि निर्माण कहिले सुरु हुन्छ, संरचना सुरक्षित छ कि छैन वा यसको भविष्य के हुन्छ भन्ने विषय अझै खुल्न सकेको छैन ।
अधुरो सपना, अधुरै प्रश्न
दैनिक हजारौं मानिस यही भवनलाई हेर्दै ओहोरदोहोर गर्छन् । कसैका लागि यो केवल एउटा अधुरो भवन हो । कसैका लागि राधेराधेको चिनारी । तर स्थानीयका लागि यो विकासको एउटा अधुरो सपना पनि हो । भवन निर्माणको लागत र साझेदारहरुबारे जानकारी प्राप्त हुन सकेको छैन् ।

दुई दशकअघि ठूलो आशा बोकेर सुरु भएको परियोजना आज मौन स्मारकजस्तै उभिएको छ । वरपर नयाँ घर बने, व्यापार विस्तार भयो, सडकमा सवारीको चाप बढ्यो । राधेराधे धेरै परिवर्तन भयो । तर चोकको बीचमा उभिएको यो १७ तले भवन भने समयसँगै परिवर्तन हुन सकेन ।
आज पनि हरेक दिन हजारौं यात्रुले यो भवनतर्फ एकपटक अवश्य हेर्छन् । अनि उनीहरूको मनमा उही प्रश्न उब्जिन्छ, यति ठूलो परियोजना आखिर किन अधुरै रह्यो ? यसको भविष्य के हो ? र राधेराधेको सुनसान खण्डहर महलले उत्तर कहिले पाउनेछ ?







प्रतिक्रिया