बारा। बाराको जितपुरसिमरा उपमहानगरपालिका(१ मा घरअगाडि पार्किङ गरेर राखिएको ट्रक रहस्यमय रूपमा हराएको छ।
घटनामा ट्रकका सहचालकमाथि शंका गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार स्थानीय अनोज थापाले चलाउँदै आएको ना ६ ख १३५७ नम्बरको टाटा कम्पनीको खाली ट्रक आईतवार राति करिब ९ बजे आफ्नै घर अगाडि पार्किङ गरेका थिए।
त्यसपछि नाम ठेगाना नखुलेका ट्रकका सहचालकले कसैलाई जानकारी नदिई ट्रक लिएर हिडेको हुन सक्ने अनुमान गरिएको छ । सो ट्रक हराएसँगै सहचालक हालसम्म सम्पर्कमा नआएको चालक थापाले बताएका छन्। चालक थापाले खोजतलास गर्दा पनि ट्रक फेला नपरेपछि आज बिहान ६ः१० बजे प्रहरी चौकी पथलैयामा जानकारी गराएका थिए।
जानकारी प्राप्त हुनासाथ प्रहरी हवल्दार मोहरकुमार दासको कमाण्डमा दुई सदस्यीय प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ। हराएको ट्रकको खोजी कार्य जारी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
हराएको ट्रक बाराको जितपुरसिमरा उपमहानगरपालिका(१ निवासी सोम गुरुङको स्वामित्वमा रहेको प्रहरीले जनाएको छ।










प्रतिक्रिया