काठमाडौं । भारतको हैदराबादमा एक युवा सफ्टवेयर इन्जिनियर मृत अवस्थामा फेला परेको घटनाले नयाँ मोड लिएको छ।
अनुसन्धानका क्रममा सार्वजनिक भएको सीसीटीभी फुटेजमा मृतक तेजस्विनी घटनाअघि असामान्य व्यवहार गर्दै मन्दिरमा प्रवेश गरेको देखिएपछि प्रहरीले घटनालाई थप गम्भीर रूपमा अनुसन्धान गरिरहेको हो।
प्रहरीका अनुसार केही दिनअघि पीरजादीगुडास्थित एक पोखरीबाट तेजस्विनीको शव फेला परेको थियो। घटनाको अनुसन्धानका क्रममा नजिकैको मन्दिरमा जडान गरिएको सीसीटीभी फुटेजमा उनी निर्वस्त्र अवस्थामा मन्दिर पुगेको र त्यहाँ रहेको देवी (अम्मावारू) को मूर्ति बोकेर बाहिरिएको दृश्य देखिएको छ।
प्रारम्भिक अनुसन्धानअनुसार मन्दिरबाट निस्किएपछि उनी मूर्तिसहित पोखरीतर्फ गएको देखिए पनि पोखरीमा हाम फालेको प्रत्यक्ष दृश्य भने कुनै सीसीटीभीमा कैद भएको छैन। प्रहरीले उनको मृत्यु पानीमा डुबेर भएको हुन सक्ने प्रारम्भिक अनुमान गरे पनि घटनाको वास्तविक कारण अझै पुष्टि भएको छैन।
अनुसन्धान टोलीले तेजस्विनीले बोकेको भनिएको देवीको मूर्तिको खोजी पोखरीमा जारी राखेको छ। उक्त मूर्ति फेला परे घटनाको क्रम बुझ्न थप सहयोग पुग्ने प्रहरीको विश्वास छ।
अनुसन्धानका क्रममा तेजस्विनी बस्दै आएको आवाससम्बन्धी विवरण पनि सार्वजनिक भएको छ। प्रहरीले उनले बस्ने फ्ल्याटको दैनिक भाडा करिब ३ हजार ५ सय भारतीय रुपैयाँ रहेको र त्यसअनुसार मासिक भाडा एक लाख रुपैयाँभन्दा बढी पर्ने जनाएको छ। सोही भवनका माथिल्ला दुई तलामा लज सञ्चालनमा रहेकाले त्यहाँ हुने आवतजावतबारे पनि अनुसन्धान भइरहेको छ।
प्रहरीले घटनालाई आत्महत्यामा मात्र सीमित नराखी आर्थिक कारोबार, व्यक्तिगत सम्बन्ध, घटनाअघि भएका गतिविधि तथा अन्य सम्भावित पक्षबाट पनि अनुसन्धान गरिरहेको जनाएको छ। यस क्रममा मृतककी आमा अरुणासँग समेत बयान लिइएको छ।
प्रहरीका अनुसार हालसम्म तेजस्विनीले यस्तो कदम किन चालिन् भन्ने स्पष्ट हुन सकेको छैन। घटनाको वास्तविक कारण पत्ता लगाउन थप प्रमाण संकलन र अनुसन्धान जारी रहेको छ।







प्रतिक्रिया