– युवन्तिका राई
इलामको नाम सुन्नेबित्तिकै धेरैको मनमा एउटै दृश्य आउँछ हरियाली चिया बगान, श्रीअन्तुको डाँडाबाट बिस्तारै उदाउँदै गरेको घाम, बिहानको चिसो हावा र कुहिरोले आधा छोपिएको पहाड। वर्षौँदेखि यिनै दृश्यहरूले इलामलाई चिनाइरहेको छ। त्यसैले पनि इलाम पुग्ने धेरै पर्यटकहरूको यात्रा कन्याम, श्रीअन्तु वा फिक्कलमै टुंगिन्छ। उनीहरू फर्किन्छन्, सुन्दर तस्बिरहरू लिएर अनि भन्छन्, ‘इलाम त साँच्चै सुन्दर रहेछ।’
चियाको हरियाली पाखाभन्दा पर, जंगलको सिरानीमा अडेस लागेको एउटा गाउँ छ, जहाँ बिहान अझै चराको आवाजले सुरु हुन्छ र साँझ हावाको सुसाइसँगै बिस्तारै ओझेल पर्छ। त्यही गाउँ हो—जिर्मले।
तर इलामको कथा त्यत्तिमै सकिँदैन। अलिकति परिचित बाटो छोडेर गाउँतिर मोडिने हो भने अर्को इलाम देखिन्छ। त्यहाँ पर्यटकको भीड कम हुन्छ। चियाको हरियाली पाखाभन्दा पर, जंगलको सिरानीमा अडेस लागेको एउटा गाउँ छ, जहाँ बिहान अझै चराको आवाजले सुरु हुन्छ र साँझ हावाको सुसाइसँगै बिस्तारै ओझेल पर्छ। त्यही गाउँ हो—जिर्मले।
रोङ गाउँपालिका–६ मा रहेको जिर्मले सांस्कृतिक सर्किटको नाम अहिले विस्तारै सुनिन थालेको छ। तर यो ठाउँले चर्चाभन्दा धेरै सम्भावना बोकेको छ। यहाँ पुगेर फर्किनेहरू प्रायः एउटै कुरा भन्छन्, ‘हामी किन यति ढिलो यहाँ आइपुग्यौँ ?’
पहिलो पटक सुन्दा ‘सांस्कृतिक सर्किट’ भन्ने शब्द अलि औपचारिक लाग्न सक्छ। तर यात्रा सुरु गरेपछि औपचारिकता आफैं हराउन थाल्छ। यो कुनै बनावटी पर्यटकीय मार्ग होइन। गाउँलेहरू हिँड्ने बाटो नै यात्रुको बाटो बनेको छ। यही बाटो हुँदै खेत पुगिन्छ, जंगल पुगिन्छ, घर पुगिन्छ अनि यही बाटो हुँदै यात्रु पनि जिर्मलेको वास्तविक जीवनसम्म पुग्छ।
झापा जिल्लाको बुद्धशान्ति गाउँपालिकासँग जोडिएको दक्षिणी सीमाबाट पदयात्रा सुरु हुन्छ। यात्रा सुरु हुने पोइन्टलाई मिनी माउन्टेन भनिन्छ। मिनी माउन्टेन हुँदै खरखोला, पहिरो डाँडा, देबी डाँडा, चुलीढुङ्गा, कुवापानी, जौबारी, थापा गाउँ, लामा गाउँ र भ्याङको झन्डी डाँडा हुँदै सलकपुर पुगिन्छ।
सुरुमा समथर भूभाग, तराईका फाँटहरू। केहीबेरपछि बाटो बिस्तारै उकालो लाग्न थाल्छ। त्यतिनै बेला मौसम पनि फेरिन थाल्छ। केही समयअघिसम्म शरीरमा टाँसिएको गर्मी हराउँदै जान्छ भने त्यसको सट्टामा चिसो हावा आउन थाल्छ।
सुरुमा समथर भूभाग, तराईका फाँटहरू। केहीबेरपछि बाटो बिस्तारै उकालो लाग्न थाल्छ। त्यतिनै बेला मौसम पनि फेरिन थाल्छ। केही समयअघिसम्म शरीरमा टाँसिएको गर्मी हराउँदै जान्छ भने त्यसको सट्टामा चिसो हावा आउन थाल्छ। जंगल बाक्लिँदै जान्छ, चराचुरुङ्गीको आवाज प्रस्ट सुन्निन थाल्छ। शहरबाट धेरै टाढा नआएको भए तापनि, शहर भने धेरै पछाडि छुटिसकेको जस्तो लाग्छ।
यो पदमार्ग करिब एक दिनमै पूरा गर्न सकिन्छ। उकालो छन्, तर शरीरलाई दुःख दिने खालका होइनन्। बाटोमा यस्ता धेरै ठाउँ आउँछन्, जहाँ आफै पाइला रोकिन्छ। दृश्य हेर्न वा कुनै कारणबिनै केहीबेर उभिन मन लाग्छ। सायद यात्राको सुन्दरता पनि यही हो। हतारमा हिँड्नेहरू गन्तव्यमा पुग्छन्, तर बिस्तारै हिँड्नेहरूले बाटो पनि सम्झन्छन्। जति माथि उक्लिँदै जान्छ, दृश्य फेरिँदै जान्छ। कतै कुहिरो डाँडामाथि बिस्तारै सर्दै गरेको देखिन्छ त कतै रूखका पातबीचबाट घाम छिर्दै गरेको देखिन्छ। कतै केही क्षण यति धेरै शान्ति हुन्छ कि आफ्नै पाइतालाको आवाज पनि नौलो लाग्छ। यस्तो शान्ति शहरमा खोजेर पनि भेटिँदैन।
जिर्मलेको विशेषता यतिमै सीमित छैन। यहाँको सबैभन्दा ठूलो सम्पदा यहाँका मानिस हुन्। लिम्बु, राई, लेप्चा, तामाङ, थापा–क्षेत्री लगायत विभिन्न समुदाय वर्षौँदेखि सँगै बस्दै आएका छन्। फरक भाषा, फरक संस्कार, फरक चाडपर्व, तर गाउँ भने एउटै। यही विविधताले जिर्मलेलाई विशेष बनाएको छ।
यहाँ संस्कृति कुनै कार्यक्रमका लागि मात्र देखाइने कुरा होइन। त्यो त बिहान खेत जाँदा, घर फर्कँदा, चाडपर्व मनाउँदा र पाहुनासँग बोल्दा पनि देखिन्छ। विशेषगरी लेप्चा समुदायको उपस्थिति यो क्षेत्रको महत्वपूर्ण पहिचान हो। नेपालका लोपोन्मुख आदिवासी समुदायमध्ये एक मानिने लेप्चाहरूले आफ्नो संस्कृति र जीवनशैली अझैसम्म जोगाइराखेका छन्। उनीहरूसँग केहीबेर गफिँदा महसुस हुन्छ प्रकृतिसँग नजिक भएर बाँच्ने मानिसहरूको सोच पनि कति फरक हुँदो रहेछ।
विशेषगरी लेप्चा समुदायको उपस्थिति यो क्षेत्रको महत्वपूर्ण पहिचान हो। नेपालका लोपोन्मुख आदिवासी समुदायमध्ये एक मानिने लेप्चाहरूले आफ्नो संस्कृति र जीवनशैली अझैसम्म जोगाइराखेका छन्। उनीहरूसँग केहीबेर गफिँदा महसुस हुन्छ प्रकृतिसँग नजिक भएर बाँच्ने मानिसहरूको सोच पनि कति फरक हुँदो रहेछ।
यात्रा अगाडि बढ्दै जाँदा प्रकृतिले पनि आफूलाई खुलाउँदै लैजान्छ। रोङ गाउँपालिकामा पाइने २७ भन्दा बढी प्रजातिका दुर्लभ अर्किड यही जंगलमा प्राकृतिक रूपमा फुलिरहेको देख्न सकिन्छ। विशेषगरी वर्षायाममा जंगलको रङ नै फेरिन्छ। हरियालीमाथि बैजनी, सेता, गुलाबी र पहेँला फूलहरू देखिन थाल्छन्। कतिपय ठाउँमा त लाग्छ, कसैले निकै मिहिनेत गरेर जंगललाई सजाइदिएको हो कि ! तर होइन, यो सबै प्रकृतिको आफ्नै सिर्जना हो।
जिर्मलेको अर्को सुन्दर पक्ष भने यहाँका होमस्टे हुन्। अहिले धेरै ठाउँमा होमस्टे खुलेका छन्, तर जिर्मलेमा पुग्दा त्यो व्यवसायभन्दा पनि गाउँको जीवनको निरन्तरताजस्तो लाग्छ। ढुंगा–माटोका घर, सफा आँगन, करेसाबारी, घरअगाडि फुलेका फूल अनि पाहुना देख्नेबित्तिकै मुस्कुराएर ‘आउनुस्’ भन्ने स्थानीयको आत्मीयता—यही नै यहाँको पहिलो स्वागत हो।
कुनै औपचारिकता हुँदैन, बनावटीपन पनि हुँदैन। केहीबेरमै लाग्न थाल्छ, मानौँ आफ्नै आफन्तको घरमा आइपुगेको छु कि जस्तो। भान्साबाट आउने परिकारको बास्नाले त्यो अनुभूति अझ गाढा बनाइदिन्छ। आफ्नै बारीमा फलाएको अन्न, अर्गानिक तरकारी, गुन्द्रुकको अचार, लोकल कुखुरा, मौसमअनुसारका ताजा फलफूल—स्वादमा कुनै तामझाम छैन, तर माटोको मिठास भने स्पष्ट भेटिन्छ। साँझ पर्दै जाँदा स्थानीय युवा र अग्रजहरू मिलेर आफ्नो संस्कृति झल्काउने गीत र नृत्य प्रस्तुत गर्छन्। त्यो कुनै पर्यटकलाई देखाउन बनाइएको कार्यक्रम जस्तो लाग्दैन। बरु, पुस्तौँदेखि बाँचिरहेको संस्कृतिको सामान्य निरन्तरता हो, जसलाई पाहुनासँग बाँड्न पाउँदा उनीहरू आफैँ खुसी देखिन्छन्।
आफ्नै बारीमा फलाएको अन्न, अर्गानिक तरकारी, गुन्द्रुकको अचार, लोकल कुखुरा, मौसमअनुसारका ताजा फलफूल—स्वादमा कुनै तामझाम छैन, तर माटोको मिठास भने स्पष्ट भेटिन्छ। साँझ पर्दै जाँदा स्थानीय युवा र अग्रजहरू मिलेर आफ्नो संस्कृति झल्काउने गीत र नृत्य प्रस्तुत गर्छन्।
जिर्मलेका स्थानीयसँग केहीबेर गफ गर्दा एउटा कुरा बारम्बार सुनिन्छ—‘सुन्तला।’ ‘एकचोटि हाम्रो सुन्तला खानुभयो भने फेरि खोज्दै आउनुहुन्छ,’ उनीहरू भन्छन्। त्यो भनाइमा व्यापारभन्दा बढी आफ्नै माटोप्रतिको भरोसा मिसिएको देखिन्छ। हुन पनि, यहाँको हावापानी र माटोले फलाएका सुन्तलाको स्वाद छुट्टै लाग्छ भन्ने धेरैले अनुभव सुनाउँछन्।
पदयात्राको अन्तिम गन्तव्य सलकपुर पुग्दा भने यात्राभरको थकान एकाएक हराएजस्तो हुन्छ। दक्षिणतिर नजर डुलाउँदै गर्दा मधेशका समथर फाँटहरू क्षितिजसम्म फैलिएका देखिन्छन्। यस ठाउँबाट झापाको दमक, बिर्तामोड, धुलाबारी, इटाभट्टा, काकर्भिट्टासँगै छिमेकी देश भारतका सिलिगुरी र पानीट्याङ्की पनि देखिन्छन्।
उत्तरतिर भने हिमालका शृङ्खलाहरू आकाशसँग कुरा गरिरहेजस्ता देखिन्छन्। खर्साङ, सोनादा, कञ्चनजङ्घा र सिक्किमको पान्दिम हिमाल एउटै स्थानबाट अवलोकन गर्न सकिन्छ। तराईदेखि हिमालसम्मको भूगोल एकैसाथ हेर्न पाउनु आफैँमा दुर्लभ अनुभव हो।
नेपालमा ग्रामीण पर्यटनको अवधारणा विस्तार हुँदै गइरहेको समयमा जिर्मले सांस्कृतिक सर्किट दिगो पर्यटनको उत्कृष्ट उदाहरण बन्न सक्छ। यहाँको आकर्षण होटलका अग्ला भवन होइनन्, गाउँका सरल घरहरू हुन्। यहाँ कृत्रिम मनोरञ्जन छैन, बरु मौलिक संस्कृति छ। व्यापारिक चमकभन्दा बढी आत्मीयता छ। अनि सायद यही कारणले यहाँ आउनेहरू केवल घुमेर फर्किँदैनन्, केही अनुभूति लिएर फर्किन्छन्।














प्रतिक्रिया