काठमाडौं । नयाँ आर्थिक वर्ष २०८३/८४ को अवसरमा गरिमा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई थप सहज, सुरक्षित र आधुनिक बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले एकैसाथ तीन नयाँ डिजिटल बैंकिङ सेवा सार्वजनिक गरेको छ ।
बैंकले गरिमा प्रिपेड डलर कार्ड, गरिमा पीओएस टर्मिनल र गरिमा इन्टरबैंक क्यूआर टेलर सेवाको औपचारिक शुभारम्भ गरेको हो ।
बैंकका अनुसार गरिमा प्रिपेड डलर कार्डमार्फत नेपाल राष्ट्र बैंकले तोकेको सीमा भित्र रही अन्तर्राष्ट्रिय वेबसाइट, मोबाइल एप तथा ई–कमर्स प्लेटफर्ममा अमेरिकी डलरमा सुरक्षित रूपमा अनलाइन भुक्तानी गर्न सकिनेछ ।
यस्तै, गरिमा पीओएस टर्मिनल सेवामार्फत व्यवसायी तथा व्यापारीहरूले डेबिट, क्रेडिट तथा प्रिपेड कार्डबाट सुरक्षित, छिटो र भरपर्दो डिजिटल भुक्तानी स्वीकार गर्न सक्नेछन् । यस सेवाले नगदरहित कारोबारलाई प्रोत्साहन गर्दै व्यापारिक कारोबारलाई थप व्यवस्थित र प्रभावकारी बनाउने बैंकको अपेक्षा छ ।
त्यसैगरी, गरिमा इन्टरबैंक क्यूआर टेलर सेवामार्फत फोनपे नेटवर्कमा आबद्ध अन्य बैंक तथा वित्तीय संस्थाका ग्राहकहरूले आफ्नो मोबाइल बैंकिङ एपबाट गरिमा इन्टरबैंक क्यूआर स्क्यान गरी गरिमा विकास बैंकको जुनसुकै शाखाबाट सहज रूपमा नगद प्राप्त गर्न सक्नेछन् ।
डिजिटल रूपान्तरणलाई प्राथमिकतामा राख्दै आएको गरिमा विकास बैंकले आगामी दिनमा पनि सुरक्षित, सरल, छरितो तथा गुणस्तरीय बैंकिङ सेवा उपलब्ध गराउन नवीनतम प्रविधिमा आधारित सेवाको विस्तारलाई निरन्तरता दिने जनाएको छ ।
गरिमा विकास बैंकले हाल देशभर १२६ शाखा कार्यालय, ५१ एटिएम तथा आधुनिक डिजिटल बैंकिङ इकोसिस्टममार्फत करिब ९ लाख ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।










प्रतिक्रिया