२३ असार २०८३, मंगलबार

जातीय विभेद तथा छुवाछुत अन्त्यका लागि मुगुमा सामूहिक सहभोज

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

–दानबहादुर बुढा

मुगु । हिमाली जिल्ला मुगुको छायाँनाथ रारा नगरपालिकाले जातीय विभेद तथा छुवाछुत अन्त्य गर्ने उद्देश्यले अन्तरसंवाद तथा सामूहिक सहभोज कार्यक्रम आयोजना गरेको छ ।

शुक्रबार नगरपालिकाको दलित हेल्प डेस्कद्वारा आयोजित कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दलका नेता, सामाजिक अभियन्ता, सुरक्षाकर्मीका दलित सञ्जालका प्रतिनिधि, पत्रकार, कर्मचारी तथा सर्वसाधारण नागरिकको सहभागिता रहेको थियो ।

जातीय विभेद सामाजिक अपराध भएको सन्देश प्रवाह गर्दै समाजमा समानता, एकता र भाइचाराको भावना अभिवृद्धि गर्ने उद्देश्यले सहभागीहरू एउटै स्थानमा बसेर सहभोजमा सहभागी भएका थिए । आयोजकका अनुसार यस्ता कार्यक्रमले सामाजिक सद्भाव र व्यवहारिक रूपमा समानताको अभ्यास गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।

छायाँनाथ रारा नगरपालिकाका नगरप्रमुख विष्णुकुमार भामले जातीय विभेद अन्त्यका लागि कानुन मात्र पर्याप्त नभई व्यवहारमै परिवर्तन आवश्यक रहेको बताए ।

‘सहभोज सामाजिक रूपान्तरणको एउटा महत्वपूर्ण यात्रा हो । बाहिर छुवाछुत नगरेको जस्तो देखिए पनि व्यवहारमा अझै विभेद कायम छ । यदि कसैले जातीय आधारमा छुवाछुत गरेको पाइए कानुनअनुसार कारबाही गरिनेछ,’ उनले भने ।

नगरप्रमुख भामले दुर्गम क्षेत्रका दलित समुदायका समस्या समाधान तथा परम्परागत पेसाको संरक्षण र प्रवद्र्धनका लागि देशभरका स्थानीय तहमध्ये पहिलोपटक दलित नीति तथा कार्यविधि पारित गरिएको पनि जानकारी दिए ।

दलित अधिकारकर्मी बलराम शाहनीले जातीय विभेद अन्त्यका लागि सहभोजजस्ता व्यवहारिक अभ्यास प्रभावकारी हुने बताए ।

‘सामाजिक समानता र मानवतामा आधारित समाज निर्माणका लागि यस्ता कार्यक्रम निरन्तर हुनुपर्छ । आगामी दिनमा सदरमुकाममा मात्र होइन, गाउँगाउँमा पुगेर धामी–झाँक्री लगायत स्थानीय समुदायलाई पनि सहभागी गराउन सके यसको प्रभाव अझ व्यापक हुनेछ,’ उनले भने ।

कार्यक्रममा सहभागी अन्य वक्ताहरूले जातीय विभेद अन्त्यका लागि सोचाइसँगै व्यवहारमा पनि परिवर्तन आवश्यक रहेको धारणा राखेका थिए ।

छायाँनाथ रारा नगरपालिकाको दलित हेल्प डेस्कमा कार्यरत कालिबहादुर नेपालीले सहभोज सामाजिक रूपान्तरणको महत्वपूर्ण माध्यम भएको उल्लेख गर्दै जातीय विभेद अन्त्यका लागि सबै पक्ष एकजुट हुनुपर्ने बताए ।

प्रमुख प्रशासकीय अधिकृत विष्णु पौड्यालले ‘जात होइन, मानवताको आधारमा सम्मान गर्ने संस्कार विकास गर्न आवश्यक रहेको बताए । छुवाछुत व्यवहारमै अन्त्य नभएसम्म कानुनी व्यवस्था मात्र पर्याप्त हुँदैन भन्दै उनले सहअस्तित्व, सद्भाव र सामाजिक एकताको सन्देश प्रवाह गर्न कार्यक्रम आयोजना गरिएको बताए ।