२ श्रावण २०८३, शनिबार

मनसुन सक्रिय, आज देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । देशभर मनसुनी वायु सक्रिय रहेकाले आज विभिन्न प्रदेशमा मेघगर्जन, चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाले विशेषगरी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा समेत हुनसक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । अहिले कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने मधेश प्रदेशमा आंशिक बदली रहेको छ ।

आज दिनभर हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थान तथा कोशी र बागमती प्रदेशका पहाडी क्षेत्रका थोरै स्थानमा पनि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

यस्तै, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रका केही स्थान तथा मधेशसँगै कोशी, बागमती र गण्डकी प्रदेशका तराईका एकदुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ ।

महाशाखाका अनुसार आज राति वर्षाको गतिविधि अझ बढ्ने सम्भावना छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू–भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ ।

त्यसैगरी, कोशी, मधेश र बागमती प्रदेशका पहाडी क्षेत्रका केही तथा तराईका थोरै स्थानमा पनि वर्षाको सम्भावना रहेको छ ।

महाशाखाले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एकदुई स्थानमा भारी वर्षा हुनसक्ने भएकाले नदीनाला आसपास, पहिरोको जोखिम भएका क्षेत्र तथा डुबान हुनसक्ने स्थानमा आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।