२२ असार २०८३, सोमबार

लगानी, प्रविधि र निर्यात विस्तारमा नेपाल–चीन व्यापार फोरमको जोड

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । निर्यात व्यवसायी महासंघ नेपालका अध्यक्ष गोविन्दप्रसाद घिमिरेले नेपाल–चीनबीचको व्यापारिक तथा औद्योगिक साझेदारीलाई थप सुदृढ बनाउन चिनियाँ लगानीकर्ता तथा उद्यमीहरूलाई नेपाललाई उत्पादन, नवप्रवर्तन र दिगो विकासका लागि रणनीतिक साझेदारका रूपमा लिन आग्रह गरेका छन् ।

अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धनका लागि नेपाली दूतावास र चीन परिषद् फर द प्रमोशन अफ इन्टरनेशनल ट्रेड र चाइना चेम्बर अफ इन्टरनेशनल कमर्सको सहकार्यमा जुलाई १ र २ मा आयोजित नेपाल–चीन बिजनेस एन्ड इन्भेस्टमेन्ट फोरमलाई सम्बोधन गर्दै अध्यक्ष घिमिरेले नेपालमा प्रविधि, लगानी र औद्योगिक सहकार्य विस्तारका लागि निजी क्षेत्र पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए ।

उनले चीनले नेपाली वस्तुका लागि उपलब्ध गराएको शून्य भन्सार सुविधाको अपेक्षित उपयोग अझै हुन नसकेकाले चीनसँग नेपालको ठूलो व्यापार घाटा रहेको उल्लेख गर्दै भने, “हामीले चीनले प्रदान गरेको शून्य भन्सार सुविधाको पूर्ण लाभ लिन सकेका छैनौँ । अब यस अवसरलाई वास्तविक आर्थिक उपलब्धिमा रूपान्तरण गर्ने समय आएको छ ।”

नेपालका उच्च मूल्यका निर्यातयोग्य वस्तुहरूका लागि नयाँ बजार विस्तारमा जोड दिँदै उनले हस्तनिर्मित कार्पेट, पश्मिना, उच्च गुणस्तरको चिया, कफी, जडीबुटी, मसला तथा डेरीजन्य उत्पादनको निर्यात विस्तारका प्रशस्त सम्भावना रहेको उल्लेख गरे ।

विगत ११ महिनामा मात्र नेपालले चीनबाट ३८२ अर्ब रुपैयाँको सामान आयात गरेको छ भने निर्यात केबल १.५८ अर्ब रुपैयाँमात्र छ ।

कार्यक्रममा चीनका लागि कार्यवाहक नेपाली राजदूत रोशन खनालले नेपाल सरकार विदेशी लगानीका लागि अनुकूल वातावरण निर्माण गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै हालका वर्षहरूमा लगानीमैत्री नीतिगत सुधारहरू अघि बढाइएको जानकारी दिए ।

चाइना चेम्बर अफ इन्टरनेशनल कमर्सका द्विपक्षीय सहयोग विभागका महानिर्देशक जु क्वाडले कार्यक्रमले दुवै देशका व्यवसायीबीच नयाँ सहकार्यका क्षेत्र पहिचान गर्न महत्वपूर्ण भूमिका खेलेको बताए ।

नेपाल उद्योग वाणिज्य महासंघको निर्यात प्रवर्द्धन समितिका सभापति होमप्रसाद घिमिरेले औद्योगिक सहकार्य, प्रविधि हस्तान्तरण तथा दिगो लगानीमार्फत नेपाल–चीन आर्थिक सम्बन्धलाई थप विस्तार गर्ने अवसर सिर्जना भएको उल्लेख गरे । उनले नेपाललाई विदेशी लगानीका लागि उदीयमान गन्तव्यका रूपमा प्रस्तुत गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरे ।

नेपाली दूतावासकी आर्थिक कूटनीति प्रमुख पार्वती अर्यालले सम्मेलनले चिनियाँ लगानीकर्ता तथा उद्यमीहरूलाई नेपालको विशाल लगानी सम्भावना नजिकबाट बुझ्ने अवसर प्रदान गरेको बताइन् । फोरममा नेपाल र चीनका विभिन्न क्षेत्रका उद्योगी, व्यवसायी तथा लगानीकर्ताको उल्लेखनीय सहभागिता रहेको थियो ।