२५ असार २०८३, बिहिबार

व्यंग्य कविता : कठैबरा महावीर दाई !

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लाटोबाट बाठो, सोझोबाट सातिर बनाइदियो,
बिनाडिग्री ‘डा.’ र नेपालकै एकमात्र वैज्ञानिक भनाइदियो !
बोल्नुपर्ने थियो सत्य, तर उनले रहस्यमय मौनता रोजे,
सत्य लुकाउनु पनि बौद्धिक अपराध नै हो, खै उनले के बुझे ?

बोल्न दिइएन उनलाई या उनी आफैं बोल्न चाहेनन्,
हिजो तालीले नलोभिने, आज सस्तो प्रशंसाले हराइदियो,
नबोल्ने ठाउँमा प्रपञ्च रच्न लगायो, बोल्ने ठाउँमा ओठ सिलाइदियो,
ल्याङफ्याङ्गबाट टिपटप बनायो, फेरि भुइँमै पछारिदियो !

आविष्कार केन्द्र र किताबलाई हाउगुजीको कथा बनाइदियो,
सबैभन्दा बढी बिक्ने तर कसैले नपढ्ने पाना बनाइदियो,
चुनाव गराउनेलाई बीच बाटोमै यात्रा छोड्न लगाइदियो,
हो लाई हो र होइनलाई होइन भन्नेलाई उल्टो चस्मा लगाइदियो !

रोकडा नबुझ्ने सोझोलाई, चुनावी खर्चको अडिटर बनाइदियो,
सबै थाहा पाउँदा पाउँदै, आखिर बुझ्पचाउने बनाइदियो,
सबै कुरा छर्लङ्ग देख्दादेख्दै, आज अन्धो र अनजानझैं बनाइदियो,
त्यो सत्यवादी ओठलाई, आज महाझुटको मतियार बनाइदियो !

स्वतन्त्र रहन्छु भन्नेलाई पार्टीको दास र लास बनाइदियो,
निष्कलंक साधुलाई, आज सत्तालिप्सी र पदलोभी बनाइदियो,
हाम्रा प्यारा त्यागी ‘पुन दाई’लाई खै कुन्नि कुन ‘पुन’ बनाइदियो,
सिङ्गो देशका साझा नायकलाई निश्चित गुटको ‘पुन’बनाइदियो !

अब त छातीभित्र एउटै मात्र डरको क्रास पलाउँछ,
के यो ‘लाजनीति’ले उनलाई मतियार बनाउँछ ?
कठै मेरो देश ! हाम्रा प्यारा, साझा र सोझो पुनलाई
आखिर के बनाइदियो राजनीतिले, अझै केके बनाउँछ ?