काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले संविधान संशोधन बहसपत्र तयारी कार्यदलबाट आफ्नो प्रतिनिधिलाई औपचारिक रूपमा फिर्ता बोलाएको छ।
महासचिव शंकर पोखरेलले बिहीबार प्रेस विज्ञप्तिमार्फत सरकारले संविधान संशोधनबारे स्पष्ट धारणा प्रस्तुत नगरेको र कार्यदलको कामकारबाही सन्तोषजनक नरहेको भन्दै प्रतिनिधि फिर्ता बोलाइएको जानकारी दिएका हुन् ।
मन्त्रिपरिषद्को निर्णयबमोजिम गठित उक्त कार्यदलमा एमालेको तर्फबाट डा। भीम अधिकारी प्रारम्भिक चरणमा सहभागी भएका थिए। तर, कार्यदलको सुरुदेखिकै गतिविधि संकास्पद देखिएको, संविधान संशोधनका विषयवस्तु स्पष्ट नगरिएको तथा वर्तमान संविधानका आधारभूत संरचनाप्रति सरकारको दृष्टिकोण पनि प्रस्ट नभएको विज्ञप्तिमा उल्लेख छ ।
साथै संशोधनका लागि बहसमा ल्याइएका केही विषयहरू संघीय लोकतान्त्रिक गणतन्त्रको मूल मर्मविपरीत देखिएको भन्दै पार्टीले सरकारसँग आफ्नो भूमिका स्पष्ट गर्न माग गरेको जनाइएको छ।
एमालेले वर्तमान संविधानका आधारभूत विशेषतालाई अझ सुदृढ बनाउँदै कार्यान्वयनका क्रममा देखिएका कमजोरी र कमीकमजोरी सुधार गर्ने उद्देश्यका साथ संविधान संशोधन हुनुपर्ने पक्षमा आफू सधैँ रहेको उल्लेख गरेको छ। तर, त्यसविपरीत उद्देश्यका साथ कार्यदल अघि बढेको निष्कर्षमा पार्टी पुगेको विज्ञप्तिमा उल्लेख गरेको हो ।
यसअघि पनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको संविधान संशोधनसम्बन्धी धारणा स्पष्ट नभएको भन्दै उक्त कार्यदलमा प्रतिनिधि नपठाउने निर्णय गरेको थियो।











प्रतिक्रिया