काठमाडौं । नवीकरणीय ऊर्जाको क्षेत्रमा काम गर्ने उद्देश्यले स्थापना गरिएको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमा बिचौलियामार्फत कमिसनको चलखेल हुने गरेको आरोप लागेको छ।
केन्द्रसँग सम्बन्धित विभिन्न सौर्य सिँचाइ तथा ऊर्जा कार्यक्रम सञ्चालनका क्रममा कर्मचारी, शाखा प्रमुखदेखि उच्च तहसम्मको मिलेमतोमा अनियमितता भइरहेको गुनासो सेवाग्राही र व्यवसायीहरूले गरेका छन्।
केन्द्रमार्फत ग्रामीण तथा दुर्गम क्षेत्रमा सौर्य ऊर्जा र सौर्य सिँचाइ कार्यक्रम सञ्चालन हुँदै आएको भए पनि पछिल्लो समय कार्यक्रम कार्यान्वयनमा बिचौलियाको प्रभाव बढेको आरोप लागेको हो। सेवाग्राहीका अनुसार कार्यालय परिसरमै विभिन्न कम्पनीका प्रतिनिधि र बिचौलियाहरूको बाक्लो उपस्थिति देखिने गरेको छ। उनीहरूले कर्मचारीसँग समन्वय गरेर उपभोक्तालाई कम्पनी छनोट गराउने तथा काम दिलाइदिने नाममा कमिसन असुल्ने गरेको दाबी गरिएको छ।
केही सेवाग्राहीले आफूलाई निश्चित कम्पनीमा काम गर्न दबाब दिइएको गुनासो गरेका छन्। कार्यालयबाट पत्र पाएपछि पनि अन्य कम्पनीमार्फत काम गर्न खोज्दा कर्मचारीले फोनमार्फत रोक्ने र अर्को कम्पनीसँग काम नगर्न चेतावनी दिने गरेको आरोप उनीहरूको छ।
सम्बन्धित कम्पनीका प्रतिनिधिहरूका अनुसार सौर्य सिँचाइ कार्यक्रम सञ्चालन गर्न विभिन्न तहमा १० देखि १५ प्रतिशतसम्म कमिसन मागिने गरेको छ। सर्वेक्षण, अनुगमन र भुक्तानी प्रक्रियामा समेत अतिरिक्त रकम असुल्ने गरिएको उनीहरूको दाबी छ। केही उपभोक्ताले सर्वेक्षणकै क्रममा कर्मचारीलाई नगद रकम बुझाएको रसिदसहित निवेदन दिएको समेत उल्लेख गरिएको छ।
यता केन्द्रका एक अधिकारीले भने आफूहरूलाई यसबारे औपचारिक जानकारी नभएको प्रतिक्रिया दिएका छन्। तर सम्बन्धित व्यवसायीहरूले भने कमिसनबिना काम अगाडि बढाउन कठिन हुने अवस्था रहेको बताएका छन्।









प्रतिक्रिया