१८ असार २०८३, बिहिबार

२९ वर्षमै १ हजार ३ सय सर्पको उद्धार, जोखिमसँग खेल्दै जनचेतना फैलाउँदै रमेश

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

–तेजन खड्का

मोरङ । मोरङको उर्लाबारी–४ का रमेश भण्डारी २९ वर्षका भए । उमेरले अझै युवावस्थामै रहेका भण्डारीले भने जीवनको आठ वर्ष सर्प उद्धारमा बिताइसकेका छन् । यस अवधिमा उनले १ हजार ३ सयभन्दा बढी सर्प सुरक्षित रूपमा उद्धार गरिसकेका छन्– कहिले खेत खलियानबाट, कहिले भान्छा घरबाट, त कहिले मानिसको ओछ्यानबाटै ।

भण्डारीको सर्पसँगको सम्बन्ध २० वर्षको उमेरदेखि सुरु भयो । छिमेकी तथा वन प्राविधिक प्रेम विष्टसँगको संगतले उनलाई सर्प प्रेमी बनायो । कुनै विशेष उपकरणबिनै ठूला सर्पलाई समात्ने विष्टको सीपले उनलाई आकर्षित गर्‍यो । त्यही सिकाइले उनलाई पनि विस्तारै सर्प समात्न र उद्धार गर्न सक्षम बनायो ।

सुरुआती दिन सहज थिएनन् । अविषालु सर्प समात्ने क्रममा उनी पटक–पटक डसिए । तर विष नभएका सर्पले ज्यान लिँदैनन् भन्ने आत्मविश्वासले उनलाई रोक्न सकेन । विस्तारै उनले विषालु सर्पको व्यवहार, जोखिम र उद्धार विधिबारे पनि गहिरो ज्ञान हासिल गरे ।

‘सर्पले उद्धारकर्तालाई चिन्छ जस्तो लाग्छ’, भण्डारी भन्छन्– ‘हामी पुगेपछि सर्प अझै सतर्क हुन्छ। त्यसैले धेरै सजग हुनुपर्छ ।’ उनका अनुसार सर्प देख्ने बित्तिकै ढुंगा हान्ने, लाठीले हिर्काउने वा आगो लगाउने प्रवृत्ति गलत हो । त्यस्तो गर्दा सर्प आक्रामक बन्छ ।

‘सर्पले आफूलाई खतरा महसुस नगरेसम्म मानिसलाई टोक्दैन’ उनले भने ।

भण्डारी सर्पलाई जोखिमको स्रोत होइन, वातावरणीय सन्तुलनको महत्त्वपूर्ण अंग मान्छन् । उनका अनुसार सर्पले खेतबारीमा मुसा नियन्त्रणदेखि विभिन्न कीटाणु नियन्त्रणसम्म भूमिका खेल्छ । तर समाजमा अझै पनि सर्पप्रति गहिरो भय कायम छ । यही डर हटाउन भण्डारी विद्यालय, किसान समूह र स्थानीय संघसंस्थामा पुगेर जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्छन् । ‘वासस्थान सुरक्षित राख्न सके सर्प घरमा पस्दैनन्,’ उनी भन्छन्, ‘तर मानिसकै कारण सर्प पनि जोखिममा परेका छन् ।’

सुरुका दिनमा परिवारले यस्तो जोखिमपूर्ण काम नगर्न सुझाव दिएका थिए । तर उनले आफ्नो बाटो छाडेनन् । अहिले वर्षायाममा त प्रायः दैनिक जसो सर्प उद्धारमा उनको दिन बित्छ । सूचना आउनासाथ उनी जुनसुकै बेला घरबाट निस्किन्छन् ।

यो काम पूर्ण रूपमा स्वयंसेवी हो । आर्थिक आम्दानी छैन । तर उनी सन्तुष्ट छन् । ‘पैसा कमाइ नभए पनि नाम चलेको छ’ उनी मुस्कुराउँदै भन्छन्, ‘त्यसैलाई नै आफ्नो सम्पत्ति ठानेको छु ।’

उनले दुखेसो पोखे– स्थानीय ठाउँमा कला क्षमताको सम्मान छैन ।