२३ असार २०८३, मंगलबार

नेपाल टेलिकमको सिमकार्ड अब हुलाकमार्फत सेवाग्राहीको घरमै पुग्ने

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल टेलिकमद्वारा ग्राहकलाई उपलब्ध गराइने सिमकार्ड लगायत अन्य कागजात, चिठीपत्र, दूरसञ्चार सेवामा प्रयोग हुने विभिन्न स्पेयर पार्ट्स लगायतका सामग्रीहरु हुलाक सेवामार्फत ढुवानी हुने भएको छ । कम्पनीका अनुसार अब नेपाल टेलिकमका सेवाग्राहीले चाहेमा कम्पनीका सिमकार्ड लगायतका अन्य सामग्री सेवाग्राहीको घरैसम्म हुलाकमार्फत उपलब्ध हुनेछ ।

यससम्बन्धी नेपाल टेलिकम र हुलाक सेवा विभागबीच आज सम्झौता सम्पन्न भएको हो । सम्झौता अनुसार आगामी साउन १ देखि हुलाक सेवा विभागमार्फत नेपाल टेलिकमका सिमकार्ड लगायत अन्य सामग्रीहरु ढुवानी गरिनेछ ।

सम्झौता पत्रमा टेलिकमको तर्फबाट निमित्त प्रबन्ध निर्देशक रीना डंगोल र हुलाक सेवा विभागको तर्फबाट महानिर्देशक मनमायाँ भट्टराई पंगेनीले हस्ताक्षर गरेका छन् ।

निमित्त प्रबन्ध निर्देशक डंगोलले नेपाल टेलिकमले सेवाग्राहीलाई कम्पनीको कार्यालयमा उपस्थित नभएरै पनि विभिन्न सेवा उपलब्ध गराउने कार्यलाई प्राथमिकता दिइरहेको र त्यसतर्फको यो अर्को महत्वपूर्ण कदम भएको बताइन् । उनले नेपाल टेलिकम र हुलाक सेवा विभागबीचको यो सहकार्यबाट कम्पनीका सेवाग्राहीहरु लाभान्वित हुने विश्वास व्यक्त गरिन् ।

हुलाक सेवा विभागका महानिर्देशक पंगेनीले जनताको घरदैलोमा सेवा पुर्‍याउने सरकारी लक्ष्यलाई व्यवहारमा लागु गर्नका लागि विभागले विभिन्न कार्य गरिरहेको बताउँदै त्यसतर्फको यो अर्को कदम भएको बताइन् । उनले आगामी दिनमा नेपाल टेलिकमका सेवाग्राहीलाई अझै प्रभावकारी रुपमा सेवा प्रदान गर्न विभाग र कम्पनीबीचको सहकार्य अझै बढ्दै जाने विश्वास व्यक्त गरिन् ।

सरकारी स्वामित्वका दुई ठूला संस्थाहरूबीच भएको यस सहकार्यले हुलाक सेवाको देशव्यापी सञ्जालको उपयोग गर्दै नेपाल टेलिकमको सेवा प्रवाहलाई अझ बढी प्रभावकारी, सुरक्षित र गुणस्तरीय बनाउने विश्वास लिइएको छ ।