–अन्जनी कुमार अधिकारी
उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि फरक अभ्यास सुरु गरेको छ । सामान्यतया विद्यार्थीलाई लक्षित गरेर गरिने कार्यक्रमभन्दा भिन्न शैलीमा नगरपालिकाले यसपटक शिक्षा दिने शिक्षकलाई नै सम्मान र प्रोत्साहन गर्ने उद्देश्यसहित शैक्षिक सामग्री वितरण गरेको हो ।
नगरपालिकाले नगरभित्रका ४५ वटा सामुदायिक विद्यालयमा कार्यरत ४ सय ५९ जना शिक्षक तथा कर्मचारीलाई झोला, डायरी र डटपेन वितरण गर्दै शिक्षाको सुधार अभियानलाई थप गति दिन खोजेको जनाएको छ ।
नगरपालिकाले वितरण गरेको सामग्री स्थायी, अस्थायी, करार, राहत, संघीय अनुदान, स्वयंसेवक शिक्षकदेखि विद्यालयका लेखा कर्मचारी र सका सम्मलाई समेटेर वितरण गरिएको हो । शिक्षा क्षेत्रको सुधार केवल नीतिगत निर्णयले मात्र सम्भव नहुने, त्यसका लागि प्रत्यक्ष रूपमा कक्षाकोठामा खटिने शिक्षकको मनोबल उच्च हुनु आवश्यक रहेको निष्कर्षसहित यो कार्यक्रम अघि बढाइएको नगरपालिकाले जनाएको छ ।

पछिल्ला वर्षहरूमा सामुदायिक विद्यालयप्रति अभिभावकको विश्वास खस्कँदै गएको सन्दर्भमा नगरपालिकाले शिक्षकलाई थप जिम्मेवार र सक्रिय बनाउन यस्तो अभियान थालेको बताइएको छ । निजी विद्यालयसँग प्रतिस्पर्धा गर्नसक्ने वातावरण निर्माण गर्न, सामुदायिक विद्यालयप्रति सकारात्मक सन्देश प्रवाह गर्न तथा शिक्षकलाई थप उत्प्रेरित गर्न यो कार्यक्रम प्रभावकारी हुने अपेक्षा गरिएको छ ।
नगरप्रमुख कालुमान लामाले पछिल्लो समय नगरभित्रका सामुदायिक विद्यालयले शैक्षिक क्षेत्रमा सुधारको संकेत देखाउन थालेको बताउँदै त्यसलाई निरन्तरता दिन शिक्षकलाई सम्मान र प्रोत्साहन आवश्यक रहेको उल्लेख गरे । उनले एसईई तथा आधारभूत तहको परीक्षाको नतिजामा सुधार आउनु सकारात्मक संकेत भएको बताउँदै आगामी दिनमा अझ राम्रो नतिजा ल्याउन शिक्षक, अभिभावक र स्थानीय सरकारबीच सहकार्य आवश्यक रहेको धारणा राखे ।
“गुणस्तरीय शिक्षा हाम्रो अभियान, शैक्षिक सामग्री सहित बालबालिकाको उज्यालो भविष्य निर्माण” भन्ने मूल नारासहित सञ्चालन गरिएको कार्यक्रममा नगरपालिकाले शिक्षकलाई केवल सामग्री वितरण मात्र नगरेर जिम्मेवारीको बोध समेत गराएको जनाएको छ । वितरण गरिएको झोलामा “शिक्षकको सिर्जनशीलता, विद्यार्थीको सफलता” भन्ने नारा लेखिएको छ । नगर शिक्षा शाखाका अनुसार उक्त नाराले शिक्षकलाई सिर्जनशील र परिणाममुखी बन्न प्रेरित गर्ने विश्वास गरिएको छ ।
कार्यक्रममा सहभागी शिक्षकहरूले स्थानीय सरकारले पहिलोपटक शिक्षकलाई प्रत्यक्ष रूपमा लक्षित गरेर कार्यक्रम ल्याएको भन्दै खुसी व्यक्त गरेका छन् । शिक्षकहरूका अनुसार यस्तो सम्मान र प्रोत्साहनले कामप्रतिको जिम्मेवारीबोध अझ बढाउनेछ । कार्यक्रममा शिक्षकहरूको तर्फबाट मन्तव्य राख्दै राजकुमार ओझाले सामुदायिक र संस्थागत विद्यालयलाई समाजले हेर्ने दृष्टिकोण फरक भएकै कारण अपेक्षित नतिजा प्राप्त गर्न कठिन भइरहेको बताए । उनले निजी विद्यालयमा पढे मात्रै भविष्य राम्रो हुन्छ भन्ने मानसिकता समाजमा अझै कायम रहेको उल्लेख गर्दै अब अभिभावक, शिक्षक र समुदाय सबै मिलेर सामुदायिक विद्यालयलाई बलियो बनाउन लाग्नुपर्ने धारणा व्यक्त गरे । सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा दिन सकिन्छ भन्ने विश्वास दिलाउन शिक्षकहरू अझ जिम्मेवार भएर काम गर्न तयार रहेको उनको भनाइ थियो ।

नगरपालिकाले निजी स्रोतका शिक्षकलाई यसपटक समेट्न नसकेको भए पनि उनीहरूको तथ्यांक संकलन गरी आगामी चरणमा सामग्री उपलब्ध गराइने जनाएको छ । नगर शिक्षा शाखाका अनुसार निजी स्रोतका शिक्षकसमेत विद्यालय सुधारका महत्वपूर्ण आधार भएकाले उनीहरूलाई पनि प्रोत्साहन गर्ने योजना बनाइएको छ ।
शिक्षा क्षेत्रमा भौतिक पूर्वाधार निर्माण, प्रविधिको प्रयोग र नीतिगत सुधारका कार्यक्रम भइरहेका बेला चौदण्डीगढी नगरपालिकाले शिक्षकलाई केन्द्रमा राखेर थालेको यो अभ्यासलाई जिल्लामै नौलो र सकारात्मक पहलका रूपमा हेरिएको छ । स्थानीय तहले शिक्षा सुधारको अभियानलाई केवल भाषण र योजनामा सीमित नराखी शिक्षकको मनोबलसँग जोडेर अघि बढाउन खोजेको यो प्रयासले आगामी दिनमा सामुदायिक विद्यालयको शैक्षिक अवस्था सुधार्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।









प्रतिक्रिया