१७ असार २०८३, बुधबार

लागूऔषधसहित ८ जना पक्राउ

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रहरीले लागूऔषधसहित विभिन्न स्थानबाट आठ जना पक्राउ गरेको छ ।

ललितपुर महानगरपालिका–२८ हरिसिद्धिबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ९० ट्याब्लेट, स्पास्पेन ३ ट्याब्लेट र नगद ५ हजार ५२५ रूपैयाँसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा ललितपुर हरिसिद्धि बस्ने चितवन भरतपुर महानगरपालिका–२४ घर भएका २८ वर्षीय सुमन विक र २५ वर्षीय अविनव रावल रहका छन् । प्रहरी प्रभाग हरिसिद्धिबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

यसैगरी, दाङ, घोराही उपमहानगरपालिका–१४ नयाँ बसपार्कस्थित जलजला रांसी होटलबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २७० मिलिग्राम र नगद १९ हजार ३५० रूपैयाँसहित ४ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका–१६ सर्रा बस्ने २४ वर्षीय करण डाँगी, २३ वर्षीय भरत सुनार, सोही उपमहानगरपालिका–१८ फुर्सेकाली बस्ने १९ वर्षीया बिमला बुढा मगर र सोही उपमहानगरपालिका–१५ स्वर्गद्वारी टोल डेरा गरी बस्ने प्युठान घर भएका २१ वर्षीय देवका थापा क्षेत्री रहेका छन् । वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले होटलको १०४ नम्बरको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

यसैगरी, दाङको घोराही उपमहानगरपालिका–१५ नवबिहानी टोलस्थित घोराही बजारबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६० मिलिग्रामसहित सोही ठाउँ बस्ने ३४ वर्षीय शकंर नेपालीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यस्तै, सुर्खेत वीरेन्द्रनगर नगरपालिका–११ बाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३४० मिलिग्रामसहित बराहताल गाउँपालिका–९ फिनिकाँडा बस्ने १७ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी सुब्बाकुना र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।