२ असार २०८३, मंगलबार

सरकार अध्यादेशमार्फत न्यायपालिका र व्यवस्थापिकामाथि हस्तक्षेप गर्न खोज्दै छ : पुष्पा भुसाल

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले वर्तमान सरकारले अध्यादेशमार्फत न्यायपालिका र व्यवस्थापिकामाथि हस्तक्षेप गर्न खोजिरहेको आरोप लगाएकी छन् ।

शनिबार राष्ट्रिय जनमोर्चाले आयोजना गरेको संविधान संशोधनसम्बन्धी छलफल कार्यक्रममा उनले वर्तमान सरकारले संविधानको मर्मविपरित अध्यादेशमार्फत कानुन संशोधन गरिरहेको आरोप लगाएकी हुन् । सरकारले संसद् छलेर अध्यादेशमार्फत आफ्नो स्वार्थअनुसार कानुन संशोधन गर्न खोजेको उनले बताइन् । उनले संविधानले कानुनी शासन र शक्ति सन्तुलनको सिद्धान्तलाई आत्मसात गरेको भएपनि सरकारले त्यसको मर्मविपरीत कदम चालेको बताइन् ।

भुसालले संसद् अधिवेशन घोषणा भइसकेको अवस्थामा संसद् स्थगित गरेर अध्यादेश ल्याउनु संविधानको मूल भावना विपरीत भएको जिकिर गरिन् । आवश्यक कानुन संशोधन संसदबाटै गर्न सकिने व्यवस्था हुँदाहुँदै अध्यादेशको सहारा लिनु शङ्कास्पद रहेको उनको भनाइ छ ।

उनले अध्यादेशमार्फत नै संवैधानिक परिषद्को संरचनामाथि हस्तक्षेप गरिएको बताइन् । संविधानले न्यायपालिका, व्यवस्थापिका, कार्यपालिका र विपक्षी दलको सहभागितामा परिषद् गठन गरी संवैधानिक निकायमा निष्पक्ष नियुक्तिको व्यवस्था गरेको स्मरण गराउँदै सरकारले त्यसलाई कमजोर बनाउने प्रयास गरेको उनको भनाइ छ ।

भुसालले निर्वाचन आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र लोकसेवा आयोगजस्ता संस्थाहरूलाई कार्यपालिकाको प्रभावमा राख्ने उद्देश्यले अध्यादेश ल्याएको बताइन् ।

न्यायपालिकामा हालै गरिएको प्रधानन्यायाधीशको सिफारिसलाई सङ्केत गर्दै उनले यसले कार्यपालिकाले न्यायपालिकामाथि नियन्त्रण कायम गर्न खोजेको सन्देश दिएको बताइन् । उनले संविधान संशोधनको बहस बढाउनुअघि सरकारमा रहेको प्रमुख दलले संविधानप्रति स्पष्ट प्रतिबद्धता जनाउनुपर्नेमा जोड दिइन् ।