काठमाडौं । काठमाडौं महानगरपालिकाले गरिरहेको ज्येष्ठ नागरिक स्वास्थ्य सर्वेक्षणमा २ हजार ७५ जनाको विवरण संकलन गर्दा १०८ जनालाई तत्काल अस्पताल लगेर उपचार गर्नुपर्ने अवस्थाको भेटिएका छन् । उनीहरुको अवस्था जाँच गरेपछि सर्वेक्षण टोलीले उपचार गर्न तत्काल अस्पताल पठाउन सहजीकरण गर्ने गरेको छ । उमेरका हिसाबले सबैभन्दा पाको १०४ वर्षका छन् ।
वैशाख २३ गतेसम्ममा संकलित विवरण अनुसार १ हजार ३७० जना महिला र ७०५ जना पुरुष गरी २ हजार ७५ जनाको विवरण संकलन भएको छ । उनीहरुमध्ये १ हजार ९४६ जना परिवारसँगै छन् । १०८ जना सहयोगीबाट साथ लिएर एक्लो जीवन बिताइरहेका छन् । आफन्त र नातेदारको आश्रयमा २१ जना रहेको महानगरले जनाएको छ ।
७० वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिकहरुको स्वास्थ्य सर्वेक्षणका लागि महानगरपालिकाले २०८२ माघ १८ गतेदेखि सबै वडामा स्वास्थ्यकर्मीको टोली खटाएको छ । टोलीले ८४ वटा प्रश्नावलीको जवाफ, ज्येष्ठ नागरिकहरुले विताइरहेको जीवन स्तरको भौतिक र शारीरिक अवस्थाका आधारमा स्वास्थ्य सर्वेक्षण भइरहेको स्वास्थ्य विभागका प्रमुख दिपककुमार केसीले जानकारी दिए । नागरिकलाई आधारभूत र आकस्मिक स्वास्थ्य सेवाको पहूँच वृद्धि गर्ने कार्यक्रमअन्तर्गत आगामी वर्षको स्वास्थ्य नीति, बजेट तथा कार्यक्रममा पृष्ठपोषण प्रदान गर्ने उद्देश्यले सर्वेक्षण गरिएको केसीको भनाइ छ ।
सर्वेक्षणमा समेटिएका ज्येष्ठ नागरिकलाई ग्रीन, एल्लो र रेड जोनमा वर्गीकरण गरिएको छ । ग्रीन जोन भनेको सुरक्षित अवस्था हो । यो जोनमा भएका ज्येष्ठ नागरिकहरुलाई धेरै निगरानी र हेरचाह आवश्यक पर्दैन । यो जोनमा ९९५ जना छन् । यल्लो जोनमा रहेका बिरामीहरुलाई चिकित्सक, स्वास्थ्यकर्मी र परिवारको निगरानी तथा हेरचाह आवश्यक पर्छ । यो जोनमा ९७२ जना ज्येष्ठ नागरिक छन् ।
उपचारका लागि तत्काल अस्पताल पठाउनु पर्ने अवस्थाका ज्येष्ठ नागरिकलाई रेड जोनमा राखिएको छ । यस्ता ज्येष्ठ नागरिकलाई तत्काल नजिकको स्वास्थ्य संस्थामा रेफर गर्ने गरिएको छ । कार्यक्रमका फोकल पर्सन अस्पताल नर्सिङ् निरीक्षक कल्पना श्रेष्ठका अनुसार रेड जोनमा १०८ जना ज्येष्ठ नागरिक छन् ।
श्रेष्ठका अनुसार विवरण संकलन गरिएकामध्ये १ हजार ५३२ जनामा उच्च रक्तचाप छ । ८१७ जनामा मधुमेह छ । २०४ जनालाई स्ट्रोक भएर उपचार गराइसकिएको छ । ६२३ जनामा दमको समस्या छ । ६७४ जनामा मुटु रोग छ । ३५४ जनामा थाइराइड छ । ६७७ जनामा डिमेन्सिया, ११८ जनामा पारकिङसनिजम छ । १ हजार ६३६ जनामा हाडजोर्नीको समस्या छ ।
६९९ जना पूर्ण रुपमा ओछ्यानमा आश्रित छन् । नियमित ओछ्यानमा परेका कारण ४७ जनाको सरीरका विभिन्न ठाउँमा ओछ्याने घाउ भएको छ । ओछ्याने घाउलाई अवस्थाका आधारमा १ देखि ४ ग्रेडसम्म वर्गीकरण गरिएको छ । यो वर्गीकरण अनुसार ३९ जनाको घाउ पहिलो ग्रेडको छ । दोस्रो ग्रेडमा ५ जना र तेस्रो ग्रेडमा ३ जना छन् । सर्वेक्षणमा रहेका स्वास्थ्यकर्मीहरुले ओछ्याने घाउ भएका ज्येष्ठ नागरिकको घाउको ड्रेसिङ गरिदिन्छन् । घाउ हुनबाट कसरी बच्ने, भन्ने सिप सिकाउँछन् । आवश्यक भए अस्पतालमा उपचारका लागि रेफर गर्छन् ।
२३ जना ज्येष्ठ नागरिकलाई नाकबाट पेटसम्म (न्याजोग्याष्ट्रिक ट्युब एनजी) पाइप राखेर खाना दिने गरिएको अवस्थाको भेटिएका छन् । ५३ जनामा क्याथेटर (पिसाब फेर्न पाइप) राखिएको छ । यसरी न्याजोग्याष्ट्रिक ट्युव र क्याथेटरको राख्नु भएकालाई यी सामानको हेरचाह र सुरक्षा कसरी गर्ने भन्ने सिकाउने गरिएको छ ।
१ हजार ५ जनाको बीमा गरिएको छैन । सर्वेक्षण टोलीले उनीहरुलाई बीमामा आवद्ध गराउन सहजीकरण गर्ने गरेको छ । आर्थिक अवस्था कमजोर भएका कारण ३५८ जनालाई औषधोपचार गर्न कठिन छ ।
सर्वेक्षणमा शारीरिक र मानसिक स्वास्थ्य, पारिवारिक तथा सामाजिक अवस्था हेरिन्छ । उनीहरुले नियमित प्रयोग गर्ने औषधि, औषधि प्रयोग गर्ने समय तालिका, तौलमा अनायास आएको परिवर्तन, गएको १५ दिनभित्र मन तथा सोचमा आएको परिवर्तन, खानामा रुचि, आफू बस्ने, हिँड्ने तथा अन्य सुरक्षासम्बन्धी अवस्था, लडेको भए एक वर्षमा कति पटक लडिएको छ ? कसरी लडेको र यसरी लड्दा भएको चोटपटकका बारेमा विवरण संकलन गरेर लड्नबाट बच्ने उपाय सिकाउने गरिएको छ ।
उनीहरु आफैं हिँड्न सक्छन् कि सक्दैनन् ? सिँढी चढ्न सक्छन् कि सक्दैनन् ? हिँड्दा सहायता चाहिन्छ कि चाहिँदैन ? आफैं लुगा लगाउन, नुहाउन सक्छन् कि सक्दैनन् दिसापिसाब नियन्त्रण गर्न सक्छन् कि सक्दैनन् ? जस्ता अवस्था हेरेर शक्ति परीक्षण गरिन्छ । जसको केही छैन अर्थात् आर्थिक अवस्था कमजोर छ । जसको कोही छैन अर्थात सम्पत्ति छ तर सहयोग गर्ने परिवारका सदस्य कोही साथमा छैनन् । साथमा परिवारका सदस्य त छन् तर, आफूजस्तै अशक्त छन् । त्यस्ता ज्येष्ठ नागरिकलाई पहिलो प्राथमिकतामा राखेर घरमै सेवा दिने लक्ष्यसहित उपचार र सर्वेक्षण थालिएको हो । सहरका कतिपय घरहरुमा शारीरिक अशक्तता भएका कारण, दीर्घ रोगका कारण हिँडडुल गर्न नसक्ने तथा स्वास्थ्य उपचारका लागि नियमित स्वास्थ्य संस्थामा जान नसक्ने ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच गर्न तथा उपचार गर्न उपचार सर्वेक्षण गरिएको महानगरले जनाएको छ ।
फिल्डमा स्वास्थ्यकर्मीहरुले ज्येष्ठ नागरिकको रक्तचाप, ग्लुकोज, ज्वरो, पल्स, श्वाशप्रश्वाश, रगतमा अक्सिजनको मात्रा, पिसावमा एल्बुमिन र सुगरलगायत जाँच गर्छन् । विगतमा गरिएका उपचार, प्रयोग गर्दै गरेका औषधि, प्रयोग गरेर छोडेका औषधिका बारेमा जानकारी लिन्छन् । खानापान, व्यायाम र अन्य दैनिक क्रियाकलापका बारेमा सोधखोज गर्नेछन् ।
आवश्यकताका आधारमा तत्काल आधारभूत उपचार गर्न स्टेराइल गज, ब्यान्डेज, एन्टिसेफ्टिक व्यान्डेज, ट्रयाङगुलर ब्यान्डेज, क्रेप ब्यान्डेज, एन्टिसेफ्टिक वाइप, कपास, मेडिकल टेप, स्टेराइल ड्रेसिङ् सेट उनीहरुकै साथमा हुन्छ । यस्तै, पाराासिटामोल, आइबुप्रोफेन, एन्टिसेफ्टिक घोल, एन्टासिड ट्याब्लेट, ओरल रिहाइड्रेसन सोलुसन, पोलेको ठाउँमा लगाउने मलम, एलर्जीका लागि एन्टिहिस्टामिन चक्कीसहित औषधि पनि स्वास्थ्यकर्मीको साथमा हुन्छ ।








प्रतिक्रिया