१० असार २०८३, बुधबार

भारतीय सहयोगमा कपिलवस्तुमा आधुनिक स्वास्थ्य चौकी भवन निर्माण सुरु

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

–कृष्ण पौडेल

कपिलवस्तु । नेपाल–भारत विकास सहयोगअन्तर्गत कपिलवस्तुको विजयनगर गाउँपालिका–३ स्थित पत्थरदेइया स्वास्थ्य चौकी भवनको शिलान्यास गरिएको छ ।

बिहीबार आयोजित कार्यक्रममा विजयनगर गाउँपालिका अध्यक्ष गोपालबहादुर थापामगर र नेपालका लागि भारतीय दूतावासकी द्वितीय सचिव गरिमा नौटियालले संयुक्त रूपमा भवनको शिलान्यास गरेका हुन् ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिमलाल विश्वकर्माका अनुसार २ करोड ११ लाख ५३ हजार ७ सय ३३ रुपैयाँ लागतमा स्वास्थ्य चौकी भवन निर्माण हुन लागेको हो । कुल लागतको ९५ प्रतिशत रकम भारतीय दूतावासले तथा बाँकी ५ प्रतिशत रकम विजयनगर गाउँपालिकाले व्यहोर्नेछ ।

प्राविधिक अधिकृत हेमन्तकुमार चौधरीका अनुसार निर्माण हुने स्वास्थ्य चौकी भवन दुईतले हुनेछ । भवनसँगै एक चमेना गृह, शौचालय तथा ल्यान्डिङ डेभलपमेन्टसहित सुविधा सम्पन्न स्वास्थ्य संस्था निर्माण गरिनेछ ।

कार्यक्रममा बोल्दै द्वितीय सचिव नौटियालले भारतीय दूतावासले नेपालमा स्वास्थ्य, शिक्षा, पूर्वाधार तथा विकास परियोजनामा निरन्तर सहयोग गर्दै आएको बताइन् । उनले विजयनगरमा निर्माण हुन लागेको स्वास्थ्य चौकी भवन नेपाल–भारतबीचको सुदृढ विकास साझेदारीको उदाहरण भएको उल्लेख गरिन् ।

उनका अनुसार नेपालभर सञ्चालनमा रहेका ६ सयभन्दा बढी विकास योजनामध्ये लुम्बिनी प्रदेशमा ६६ वटा तथा कपिलवस्तु जिल्लामा ६ वटा योजना सञ्चालनमा रहेका छन् । भारतीय सहयोगअन्तर्गत एम्बुलेन्स तथा विद्यालय बस वितरण, विद्यालय र स्वास्थ्य चौकी भवन निर्माण, खानेपानी तथा सामुदायिक परियोजना, सडक तथा पुल निर्माण, विद्युत् प्रसारण लाइन विस्तार, छात्रवृत्ति, विपद् राहत सामग्री वितरण तथा स्वास्थ्य सामग्री सहयोगलगायत कार्यक्रम सञ्चालन हुँदै आएका छन् ।

गाउँपालिका अध्यक्ष थापामगरले नेपाल–भारतबीच लामो समयदेखि मैत्रीपूर्ण सम्बन्ध कायम रहेको उल्लेख गर्दै विजयनगर गाउँपालिका सीमावर्ती क्षेत्र भएकाले दुई देशका नागरिकबीच सामाजिक तथा पारिवारिक सम्बन्धसमेत घनिष्ठ रहेको बताए ।

उनले भारतले नेपालको विकास तथा विपद्का समयमा निरन्तर सहयोग गर्दै आएको उल्लेख गर्दै स्वास्थ्य चौकी भवन केवल संरचना मात्र नभई नेपाल–भारत सम्बन्धको प्रतीकका रूपमा रहने बताए ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष लक्ष्मीकुमारी चौधरीले स्वागत मन्तव्य राख्दै भवन अभावका कारण सेवा प्रवाह र व्यवस्थापनमा देखिएका समस्या नयाँ भवन निर्माणपछि समाधान हुने विश्वास व्यक्त गरिन् ।

स्वास्थ्य चौकी भवन सञ्चालनमा आएपछि स्थानीय नागरिकले गुणस्तरीय तथा प्रभावकारी स्वास्थ्य सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ ।