२ असार २०८३, मंगलबार

चोरी भएर अमेरिका पुगेको प्राचीन बुद्ध मूर्ति बज्रधातु विहारमा पुनर्स्थापना

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं महानगरपालिका–२३ को ओम बहालस्थित न्हुँछे बहा (बज्रधातु विहार)बाट चोरी भई अमेरिका पुर्‍याइएको प्राचीन बुद्ध मूर्ति बुद्ध जयन्तीको अवसरमा भव्य समारोहबीच पुनः आफ्नै मूल स्थानमा पुनर्स्थापना गरिएको छ ।

संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित टिबेट हाउस कलेक्सनमा पुगेको उक्त मूर्ति वि.सं. २०७८ फागुन १८ गते नेपाल फिर्ता ल्याइएको थियो । पुरातत्व विभाग र नेपाली सम्पदा अभियन्ताहरूको सक्रिय पहलपछि स्वदेश फर्काइएको मूर्तिलाई त्यसपछि राष्ट्रिय संग्रहालयमा सुरक्षित रूपमा संरक्षण गरिएको थियो ।

महानगर कार्यवाहक प्रमुख सुनिता डंगोलको पहलमा शुक्रबार बुद्ध जयन्तीका अवसरमा उक्त मूर्तिलाई हनुमानढोकाबाट पुनः विहारको मूल आसनमा स्थापना गरिएको हो ।

कार्यक्रममा कार्यवाहक प्रमुख बोल्दै डंगोलले नेपाल मण्डलका मूर्तिहरू केवल कला नभई जीवित सांस्कृतिक प्रतीक भएको बताइन् । ‘नेपाल मण्डलभित्रका मूर्तिहरू केवल आकृति मात्र होइनन्, हरेक मूर्तिमा प्राण हुन्छ । ती मूर्तिहरूसँग समाजको गहिरो आत्मीय सम्बन्ध जोडिएको हुन्छ,’ उनले भनिन् । उनले सम्पदा संरक्षणमा स्थानीय समुदायको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै महानगरले गर्नुपर्ने काम पूर्ण प्रतिबद्ध भएर गर्ने बताइन् ।

यस अवसरमा नेपाल भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी विशेष दूत सर्जियो गोरको पनि विशेष उपस्थिति रहेको थियो । उनले नेपालको समृद्ध सांस्कृतिक सम्पदाको प्रशंसा गर्दै यस्ता ऐतिहासिक तथा धार्मिक महत्वका वस्तुहरू आफ्नै मूल स्थानमै सुरक्षित रहनुपर्नेमा जोड दिए ।

वडाध्यक्ष मचाराजा महर्जनले मूर्ति पुनर्स्थापनाले वडाको सांस्कृतिक पहिचान अभिवृद्धिमा महत्वपूर्ण योगदान पुगेको बताए ।

राष्ट्रिय सङ्ग्रहालयका प्रमुख अरुणा नकर्मीले सम्पदा संरक्षणमा स्थानीय सरकार समुदायका बीच समन्वय उत्कृष्टताको नमुना भएको उल्लेख गरिन् । सम्पदा संरक्षणकर्मी गणपतिलाल श्रेष्ठ र सञ्जय अधिकारीले विदेशमा बेचिएका प्राचीन कला फिर्ता ल्याउने काममा थप उत्साह बढेको बताए ।