२१ जेष्ठ २०८३, बिहिबार

आफ्नै बुबाको हत्या गरेर १८ वर्षदेखि फरार छोरा चितवनबाट पक्राउ

602
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

–दिपेश पौडेल

रौतहट । रौतहटमा १८ वर्षअघि आफ्नै बुबाको हत्या गरी फरार रहेका एक व्यक्तिलाई प्रहरीले चितवनबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको गरुडा नगरपालिका–१ (साविक जयनगर गाविस–४)का ४९ वर्षीय राम विलास महतो रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटले उनलाई लुकिछिपी बसेको अवस्थामा चितवनबाट नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार २०६४ जेठ २० गते राति साविक जयनगर गाविस–४ स्थित गोठ घरमा ६५ वर्षीय विश्वेश्वर महतो कोइरीको हातखुट्टा बाँधेर धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार हत्याको मुख्य कारण ऋण र जग्गा विवाद देखिएको छ । अभियुक्त राम विलासले गाउँका धेरै व्यक्तिसँग ऋण लिएका थिए ।अड्डा अदालतमा जग्गा खिचोलासम्बन्धी मुद्दा समेत चलिरहेको थियो । मुद्दाको खर्च जुटाउन नसकेपछि उनले आफ्नै बुबाको हत्या गरेर विपक्षीहरूलाई ‘ज्यान मुद्दा’मा फसाउने योजना बनाएका थिए । विपक्षीहरू जेल गएमा ऋण तिर्नु नपर्ने र जग्गा विवाद पनि सुल्झिने उनको दाउ थियो ।

हत्यापछि शंका लाग्ने डरले राम विलास स–परिवार फरार भएका थिए । प्रहरीले सूक्ष्म अनुसन्धान र खोजतलास जारी राख्ने क्रममा उनलाई १८ वर्षपछि २०८३ वैशाख १६ गते चितवनमा फेला पारेको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक विष्णु प्रदीप बस्यालका अनुसार पक्राउ परेका महतोमाथि थप कानुनी प्रक्रिया अगाडि बढाइएको छ ।