लहान । गत वैशाख ५ गते आएको भीषण हावाहुरीबाट प्रभावित लहान–२१ का २५ परिवारलाई राहत सामग्री वितरण गरिएको छ । जिल्ला ३२५ एफ को एमर्जेन्सी फण्डको सहयोग तथा लहानस्थित विभिन्न लायन्स क्लबहरूको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो ।
एलसी लहान सहर, एलसी लहान फूलबारी, एलसी लहान सनशाइन र एलसी लहान बुद्धको संयुक्त पहलमा आयोजित कार्यक्रममा लहान–२१ का वडाध्यक्ष राजकुमार यादवको सहजीकरण रहेको थियो ।
हावाहुरीका कारण घरबारविहीन तथा आंशिक रूपमा क्षति पुगेका परिवारलाई लक्षित गर्दै दैनिक उपभोग्य सामग्री वितरण गरिएको आयोजकले जनाएको छ । प्रति परिवार ३० केजी चामल, २ केजी सेतो मटर, २ केजी नुन, १ लिटर तेल, ५ केजी आलु, एकरएक थान तन्ना, झुल र म्याट वितरण गरिएको थियो । उक्त सामग्रीले प्रभावित परिवारको तत्काल आवश्यकतामा राहत पुर्याउने विश्वास लिइएको छ ।
कार्यक्रममा लायन्स क्लबका विभिन्न सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो । सहभागीहरूमा चक्रपाणि दाल, सुदिपकुमार चौधरी, राकेश झा, ललितकुमार महतो, शंकरप्रसाद गुप्ता, फुलेश्वर महतो, राजकुमार सिंह, कोशिलेशकुमार चौधरी, लेखराज सिंह, डा. मिथिलेश तथा दीपेन्द्रकुमार सिंह लगायत रहेका थिए ।
आयोजक संस्थाहरूले आफूहरू विशुद्ध सामाजिक सेवामा समर्पित रहेको उल्लेख गर्दै विपद्का बेला समुदायसँगै रहने प्रतिबद्धता व्यक्त गरेका छन् । साथै, आगामी दिनमा पनि यस्ता मानवीय सहयोगका कार्यक्रमलाई निरन्तरता दिने जनाइएको छ ।








प्रतिक्रिया