२५ जेष्ठ २०८३, सोमबार

राष्ट्रपति पौडेलद्वारा सीता जयन्तीको शुभकामना

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ‘सीता जयन्तीको अवसरमा सबै नेपालीबीचको एकतालाई अझ सुदृढ गर्दै सामाजिक सद्भाव र सुसंस्कृत समाजको निर्माण गर्नका लागि सबैमा निरन्तर प्रेरणा प्रदान गरोस्’ भनी कामना गरेका छन् ।

राष्ट्रिय विभूति सीताको उत्पत्ति दिवसको अवसरमा आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति एवम् समृद्धिका लागि शुभकामना व्यक्त गर्दै जगत् जननीको रूपमा पूजा अर्चना गरिने मातृशक्ति सीता मिथिलाभूमि नेपालकी सुपुत्री हुनु हामी नेपालीका लागि गौरवको विषय भएको उल्लेख गरेका छन् ।

प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन विशेष पूजा अर्चनासहित सीता उत्पत्ति दिवस अर्थात् सीता जयन्ती मनाउने गरिन्छ । त्रेता युगमा मिथिलाका राजा जनकले यज्ञको अनुष्ठान गर्दा विधिपूर्वक खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको वर्णन वाल्मीकि रामायणलगायत पुराणमा वर्णन गरिएको पाइन्छ ।

माता सीताको जन्म हाम्रो पौराणिक तथा साँस्कृतिक विश्वासको धरोहरका रूपमा रहिआएको छ । जानकी, वैदेही, जनक नन्दिनीलगायत सीताका अन्य धेरै नामलाई श्रद्धाभक्तिपूर्वक लिँदै आज सीता जयन्तीका अवसरमा देशभरका राम जानकी मन्दिरमा र जनकपुरको जानकी मन्दिरमा विशेष पूजा अर्चना गरी यो पर्व मनाइन्छ ।

माता सीतालाई पतिव्रता, धैर्यता, सहनशीलता र उदारताकी प्रतिमूर्तिको रूपमा लिइन्छ । मिथिलाकालीन सभ्यतादेखि नै समाजमा महिलाको स्थान उच्च राख्न मार्गदर्शन गर्ने आदर्श नारीको रूपमा माता सीताको श्रद्धा गरिन्छ ।