२४ असार २०८३, बुधबार

कञ्चनजंघा क्षेत्रमा बढ्यो पर्यटक चहलपहल, पर्यटन व्यवसायी उत्साहित

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा क्षेत्रमा पर्यटक आगमन सुरु भएसँगै स्थानीय पर्यटन व्यवसायमा उत्साह थपिएको छ ।

मौसम अनुकूल बन्दै जाँदा आन्तरिक तथा विदेशी पर्यटकको चहलपहल बढ्न थालेको हो ।

कञ्चनजंघा क्षेत्र चैतको पहिलो सातादेखि जेठको तेस्रो सातासम्म भ्रमणका लागि उपयुक्त मानिन्छ । कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् घुन्सा चेकपोस्टका पर्यटन सहायक टाँसी छिरिङ शेर्पाका अनुसार पछिल्लो एक महिनामा मात्रै १६५ विदेशी पर्यटकले भ्रमण गरेका छन् ।

वर्षमा दुई प्रमुख पर्यटकीय याम रहने यस क्षेत्रमा पहिलो याम चैतदेखि जेठसम्म र दोस्रो असोजदेखि मंसिरसम्म हुने गर्दछ । गत वर्ष पहिलो याममै ७५० विदेशी पर्यटक यहाँ आएका थिए ।

कञ्चनजंघा आधार शिविर पुग्न पाँचथरको गणेशचोक हुँदै सिरिजङ्घा गाउँपालिका भएर वा काठमाडौंबाट हवाई मार्गमार्फत सुकेटार विमानस्थल पुगेर फक्ताङलुङ गाउँपालिकाको बाटो प्रयोग गरिन्छ ।

पर्यटकलाई लक्षित गर्दै पदमार्गमा सानाठूला गरी ५२ वटा होटल सञ्चालनमा छन् । फक्ताङलुङ गाउँपालिका–६ ग्याप्लामा करिब सात करोड रुपैयाँभन्दा बढी लगानीमा ‘सिङ्गी नामजोंग होटल’ सञ्चालनमा आएको छ । तीन हजार ५०० देखि चार हजार ५०० मिटर उचाइसम्म एक करोडभन्दा बढी लगानीमा बनेका चार होटल सञ्चालनमा छन् भने अन्य होटलहरूमा पनि उल्लेख्य लगानी गरिएको छ ।

ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा पनि पर्यटक लक्षित ठूला होटलहरू सञ्चालनमा आएपछि होटल व्यवसायी थप आशावादी बनेका छन् । स्थानीय समुदायको मुख्य जीविकोपार्जन पर्यटन, होटल व्यवसाय र पशुपालनमा आधारित छ । घुन्सा, फले र याम्फुदिन क्षेत्रका अधिकांश परिवार प्रत्यक्ष रूपमा पर्यटनसँग जोडिएका छन् ।

खेतीपातीको सम्भावना कम भएकाले पछिल्लो समय युवा पुस्ता पशुपालनभन्दा पर्यटन व्यवसायतर्फ आकर्षित हुन थालेका छन् । कोही होटल सञ्चालन गरेर स्वरोजगार बनेका छन् भने कोही पर्यटक मार्गदर्शक तथा सहयोगीका रूपमा आयआर्जन गरिरहेका छन् ।

सन् १९५५ मे २५ मा कञ्चनजंघाको पहिलो आरोहण भएको इतिहास छ । विगतमा फुङ्लिङबाट पैदल यात्रा गर्दा २४ दिन लाग्ने यात्रा अहिले छोटिएर ११ देखि १६ दिनमै दुवै आधार शिविर पुगेर फर्कन सकिने भएको छ ।

विशेषगरी चैत, वैशाख, जेठ तथा असोज, कात्तिक र मङ्सिरमा यहाँ पर्यटकको चाप बढी हुने गर्दछ भने हिमाल आरोहण मुख्यतः वैशाख र जेठमा हुने गर्दछ । जापान, जर्मनी, अष्ट्रेलिया, अमेरिका, फ्रान्स, बेलायत, नेदरल्यान्ड, क्यानडा, स्विजरल्यान्ड, बेल्जियम, फिलिपिन्स, स्पेन र स्विडेनलगायत देशबाट पर्यटक यहाँ आउने गरेका छन् । साथै, भारत र चीनबाट पनि पर्यटक भ्रमण तथा आरोहणका लागि पुग्ने गरेका छन् ।