काठमाडौं । मेडिकल व्यवसायी समेत रहेका राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले वर्तमान सरकारसँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) र मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) खारेज गर्ने निर्णय गर्न आग्रह गरेका छन् ।
शनिबार पत्रकार सम्मेलन गर्दै प्रसाईंले एसपीपी र एमसिसी खारेज नगरेको भन्दै सरकारको आलोचना गरेका हुन् । उनले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारको प्रसंग उल्लेख गर्दै वर्तमान सरकारलाई ती सम्झौता खारेज गर्न दबाब दिएका हुन् । उनले सरकारसँग क्याबिनेटबाट निर्णय गरेर हिन्दु राष्ट्र पुनर्स्थापना गर्न समेत माग गरे ।
‘सरकारलाई के भन्छु भने क्याबिनेटबाट निर्णय गरेर हिन्दु राज्य कायम गरियोस् । तपाईंहरूसँग बहुमत छ, निर्णय गर्नुस्,’ उनले भने ।
प्रसाईंले राजसंस्था पुनर्स्थापनाको माग समेत अघि सारेका छन् । उनले भने, ‘हिन्दु राष्ट्र ल्याइदिनुस्, राजसंस्था ल्याइदिनुस् । यदि यस्तो निर्णय हुन्छ भने चुनाव नै आवश्यक पर्दैन, म सडकमा उभिन्छु ।’
त्यस्तै, उनले सर्वदलीय सरकार गठन गरी संविधान संशोधन गर्नुपर्ने धारणा पनि राखे । विवादित विषयहरू मिलाएर मात्र निर्वाचनमा जानुपर्ने उनको भनाइ छ । ‘पहिला संविधान संशोधन गरौँ, सर्वपक्षीय सरकार बनाऔँ, नमिलेका कुरा मिलाऔँ अनि मात्र चुनावमा जाऔँ भन्ने मेरो धारणा थियो,’ उनले भने, ‘तर हतारमा चुनाव गराइयो ।’
उनले अहिलेको राजनीतिक अवस्थाप्रति असन्तुष्टि व्यक्त गर्दै सरकारलाई जनताको अपेक्षाअनुसार निर्णय गर्न आग्रह गरेका छन् ।








प्रतिक्रिया