चितवन । चितवनको रत्ननगर नगरपालिका–२ स्थित बकुलहर रत्ननगर प्रादेशिक अस्पतालको निर्माणाधीन मातृशिशु भवनको काममा ढिलासुस्ती भएपछि बागमती प्रदेशका मन्त्रीहरूले सक्रियता देखाएका छन् ।
भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटा र स्वास्थ्यमन्त्री किरण थापाले शुक्रबार अस्पतालको स्थलगत अनुगमन गरी कामको अवस्थाबारे जानकारी लिएका हुन् ।
निर्धारित समयसीमा सकिएर पटकपटक म्याद थप गर्दा पनि भवन निर्माण सम्पन्न नभएपछि मन्त्रीद्वयले निर्माण पक्ष तथा मन्त्रालयका प्राविधिकहरूसँग ढिलाइ हुनुको कारण सोधपुछ गरे ।

अनुगमनका क्रममा भौतिक पूर्वाधार विकास मन्त्री डा. देवकोटाले बाँकी समयभित्रै भवन हस्तान्तरण गर्ने गरी निर्माण कम्पनीका मुख्य सञ्चालक (प्रोपाइटर) आफै उपस्थित भएर लिखित प्रतिबद्धता जनाउन निर्देशन दिए ।
‘अब कर्मचारीको भर परेर हुँदैन, मुख्य प्रोपाइटरले नै हामीसँग सिधै सम्पर्क गरी काम सक्ने ठोस प्रतिबद्धता दिनुपर्छ,’ मन्त्री देवकोटाले भने, ‘हामी काम तपाईंहरूबाटै सम्पन्न होस् भन्ने चाहन्छौँ, तर प्रगति देखिएन भने अब म्याद थपिने छैन । बरु जरिवाना गर्ने वा कानुनी प्रक्रियामार्फत अर्को विकल्प खोज्न बाध्य हुनेछौँ ।’
भवन अभावले सेवा प्रवाहमा सास्ती
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोपाल कर्माचार्यले भवन अभावकै कारण अस्पतालले धेरै समस्या झेल्नुपरेको बताए । उनका अनुसार दैनिक करिब १५ सय देखि १९ सय सेवाग्राही आउने यस अस्पतालमा पूर्वाधार अभावले सेवा विस्तारमा अवरोध पुगेको छ ।
‘हामीसँग डायलासिसका ५ वटा मेसिन छन्, तर ठाउँ नहुँदा ती थन्किएका छन् । सिटी स्क्यान मेसिन आउँदैछ, त्यसलाई राख्ने ठाउँ छैन,’ कर्माचार्यले गुनासो गरे, ‘ओपिडीमा एउटै कोठामा दुई जना डाक्टर बस्नुपर्ने र दुई जना बिरामीलाई एउटै बेडमा राखेर उपचार गर्नुपर्ने बाध्यता छ । एउटा मात्र शल्यक्रिया कक्ष (अप्रेसन थिएटर) हुँदा चिकित्सकहरूले पालो पर्खिनुपर्छ ।’ नयाँ भवन हस्तान्तरण भएमा २०८३ असारभित्रै बिरामीलाई सहज सेवा दिन सकिने उनको भनाइ छ ।
७० प्रतिशत भौतिक प्रगति, चालु आर्थिक वर्षभित्रै सकिने
शहरी विकास तथा भवन कार्यालयका महाशाखा प्रमुख भूपेन्द्र यादवका अनुसार दुई कठ्ठा क्षेत्रफलमा निर्माणाधिन तीनले भवनको करिब ७० प्रतिशत भौतिक प्रगति भएको छ । भवनको मुख्य संरचना (सिभिल)को काम सम्पन्न भए पनि फिनिसिङ, एचभीएसी, स्यानिटरी र विद्युतीय जडानका कामहरू बाँकी छन् ।
निर्माण अवधि दुई पटकसम्म थप भइसकेकाले अब पुनः म्याद नथप्ने पक्षमा कार्यालय रहेको छ । महाशाखा प्रमुख यादवले भने, ‘२०७८ चैत २३ मा सम्झौता भई २०८० सालमै सम्पन्न हुनुपर्ने यो आयोजनाको म्याद दुई पटक थपिसकिएको छ । अब म्याद थप गर्ने सुविधा छैन, त्यसैले २०८३ जेठ २९ गतेसम्म काम सक्न निर्माण व्यवसायीलाई कडा दबाब दिनेछौँ ।’

यता निर्माण कम्पनी ‘आशिष योगेश्वर गृह जेभी’का प्रतिनिधि विराट गोलले प्रशासनिक र प्राविधिक जटिलताका कारण ढिलाइ भएको दाबी गरे । सम्झौता भएको लामो समयपछि मात्र कार्यसम्पादन आदेश पाउनु, साइट क्लियर गर्न ढिला हुनु र आयोजना स्थानीय तहबाट प्रदेश सरकारमा हस्तान्तरण हुँदा केही अलमल भएको उनको तर्क छ । ‘अन्तर्राष्ट्रिय बजारबाट आउनुपर्ने सामानहरू केही दिनमै आइपुग्छन्, हामी तोकिएको समयमै काम सक्छौँ,’ उनले प्रतिबद्धता व्यक्त गरे ।
२०२४ सालमा स्वास्थ्य चौकीका रूपमा स्थापना भएको यो अस्पताल २०७७ मा प्रदेश सरकार मातहत ५० शैयाको अस्पतालमा स्तरोन्नति भएको थियो । २०७३ फागुनदेखि विशेषज्ञ प्रसूति सेवा सुरु गरेको यस अस्पतालले २०७४ मंसिर २० गते पहिलो पटक शल्यक्रियामार्फत सफल सुत्केरी सेवा प्रदान गरेको थियो ।
करिब १४ करोड ५८ लाख रुपैयाँको लागत अनुमान गरिएको यस मातृशिशु भवन निर्माणका लागि ९ करोड ५८ लाखमा ठेक्का सम्झौता भएको थियो । यो भवन सञ्चालनमा आएपछि भरतपुर अस्पतालमा हुने सुत्केरीको चाप कम हुने र स्थानीयले सहजै विशेषज्ञ सेवा पाउने अपेक्षा गरिएको छ ।








प्रतिक्रिया