७ श्रावण २०८३, बिहिबार

निर्माण सामग्रीको दररेट समायोजन गर्न प्रधानमन्त्री कार्यालयलाई नगरपालिकाको अनुरोध

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

–अन्जनी कुमार अधिकारी

उदयपुर । पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण निर्माण सामग्री तथा ढुवानी खर्च अत्यधिक बढेको भन्दै निर्माण क्षेत्र प्रभावित भएको अवस्थालाई ध्यानमा राख्दै निर्माण सामग्रीको दररेट समायोजन गर्न उदयपुरको चौदण्डीगढी नगरपालिकाले प्रधानमन्त्रीसमक्ष औपचारिक अनुरोध गरेको छ ।

नगरपालिकाका कार्यवाहक नगर प्रमुख प्रकाश राउतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्र पठाउँदै पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिका कारण हाल कायम दररेट व्यवहारिक नभएको उल्लेख गरेका गरेका छन् । प्रधानमन्त्रीलाई लिखिएको पत्रमा हालको सरकारी दररेट पुरानै अवस्थामा कायम रहेकाले निर्माण व्यवसायी तथा उपभोक्ता समितिहरूले योजना कार्यान्वयन गर्न कठिनाइ भोगिरहेको जनाइएको छ । इन्धनको मूल्यवृद्धिसँगै ढुवानी खर्च बढ्दा सिमेन्ट, फलाम, गिट्टी, बालुवा लगायत निर्माण सामग्रीको लागत उल्लेख्य रूपमा बढेको छ । तर, सरकारी दररेट पुरानै रहेको हुँदा हालको मूल्यवृद्धि अनुसार नगरमा सञ्चालित आयोजनाहरुको मूल्य समायोजन नभएकाले योजना सञ्चालनमा समस्या उत्पन्न भएको नगरपालिकाको भनाइ छ ।

नगरपालिकाले दररेट यथाशीघ्र संशोधन नभए पुँजीगत खर्चतर्फका विकास योजनाहरू प्रभावित हुने, कार्य प्रगति सुस्त हुने तथा तोकिएको समयमै योजना सम्पन्न गर्न नसकिने अवस्था सिर्जना हुने उल्लेख गर्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ । यसले स्थानीय तहको विकास गतिविधिमा प्रत्यक्ष असर पर्ने समेत पत्रमा उल्लेख गरिएको छ ।

कार्यवाहक नगर प्रमुख राउतले पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँग तालमेल हुनेगरी निर्माण सामग्रीको दररेट संशोधन गर्न सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिन प्रधानमन्त्रीसँग अनुरोध गरेका छन् । यस कदमबाट निर्माण क्षेत्रलाई सहज बनाउने, विकास योजनाको गति बढाउने तथा उपभोक्ता समितिहरूलाई काम गर्न अनुकूल वातावरण सिर्जना हुने अपेक्षा गरिएको छ ।

स्थानीय तहहरूले पछिल्लो समय बढ्दो निर्माण लागतका कारण विकास योजना कार्यान्वयनमा चुनौती सामना गरिरहेका बेला दररेट समायोजनको मागलाई चासोका साथ हेरिएको छ ।