काठमाडौं । उपसभामुख रुवीकुमारी ठाकुरले दाइजोमुक्त विवाहको मात्र निम्तो स्वीकार गर्ने बताएकी छन् । अहिले धेरै विवाहका निमन्त्रणापत्रहरू प्राप्त भइरहेको उल्लेख गर्दै उनले निमन्त्रणा पत्रमा ‘दहेजमुक्त विवाह, दाइजो लिनु र दिनु सामाजिक तथा कानूनी अपराध हो’ भन्ने स्पष्ट सन्देश समावेश गरी पठाउन अनुरोध गरेकी छिन् ।
‘हालै मैले धेरै विवाहका निमन्त्रणापत्रहरू प्राप्त गरिरहेको छु । तर तीमध्ये कुनैपनि कार्डमा ‘दहेज मुक्त विवाह’ भन्ने स्पष्ट उल्लेख देख्न पाइएको छैन,’ ठाकुरले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘यसले हाम्रो समाज अझै दाइजो जस्तो गम्भीर कुरीतिबाट पूर्ण रूपमा मुक्त हुन नसकेको संकेत गर्छ ।’
दाइजो लिनु र दिनुमात्र होइन, दाइजोको लेनदेनमा आधारित विवाहलाई स्वीकार गर्नु त्यस्ता कार्यक्रममा सहभागी हुनु वा भोज ग्रहण गर्नुपनि सामाजिक रूपमा अस्वीकार्य र कानुनी रूपमा दण्डनीय विषय भएको उनले बताइन् ।
‘यदि हामी साँच्चिकै समाज परिवर्तनको कुरा गर्छौँ, देश विकासको सपना देख्छौँ र सामाजिक कुरीतिका विरुद्ध उभिन चाहन्छौँ भने परिवर्तनको सुरुवात हामी आफैबाट गर्नुपर्छ । व्यक्तिगत स्तरबाट उठाइएको सानो कदमले पनि ठूलो सामाजिक रूपान्तरण सम्भव हुन्छ । यसैले, दाइजो लेनदेन भएको विवाहमा म सहभागी हुन असमर्थ रहने जानकारी गराउन चाहन्छु । कृपया दहेज मुक्त, समानतामा आधारित र सुसंस्कृत विवाहको अभ्यासलाई प्रोत्साहन गरौँ ।’ उनले फेसबुकमा लेखेकी छन् ।








प्रतिक्रिया