–अन्जनी कुमार अधिकारी
उदयपुर । उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–६ मा रहेको धार्मिक तथा ऐतिहासिक महत्व बोकेको रौतापोखरी परिसरमा आयोजना गरिएको ५ दिने प्रथम रौतामाई–त्रियुगा पर्यटन महोत्सव आइतबार उद्घाटन भए पनि कार्यक्रमको व्यवस्थापन पक्ष अत्यन्तै कमजोर देखिएको थियो । आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने ठूलो उद्देश्यसहित आयोजना गरिएको महोत्सवको सुरुवाती दिनमै व्यवस्थापकीय कमजोरी सतहमा आउँदा कार्यक्रमको प्रभावकारितामाथि प्रश्न उठेको छ ।
महोत्सव उद्घाटन कार्यक्रम बिहान ११ बजे हुने जानकारी पाएपछि पहाडी कठिन बाटो पार गर्दै निमन्त्रित अतिथि, स्थानीयवासी तथा सहभागीहरू समयभन्दा अगावै कार्यक्रम स्थल पुगेका थिए । तर कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुलीको टोली दिउँसो करिब १ बजे मात्र कार्यक्रम स्थल पुगेपछि उद्घाटन कार्यक्रम निकै ढिला सुरु भएको थियो । दुर्गम स्थानसम्म कठिन यात्रा गरेर पुगेका अतिथिहरू लामो समयसम्म प्रतीक्षा गर्न बाध्य हुनु परेको थियो ।
अझ गम्भीर पक्ष त प्रमुख अतिथिसहितको टोलीका लागि व्यवस्थापन समितिले समयमै खानाको व्यवस्था गर्न नसक्नु हो । उद्घाटनअघि खानाका लागि हात धोएर बसेका प्रमुख अतिथिसहितको टोली व्यवस्थापन असक्षम हुँदा खाना नै नपाएर अर्को होटलतर्फ जान बाध्य भएको दृश्यले कार्यक्रमको समग्र तयारी कति कमजोर थियो भन्ने स्पष्ट देखाएको थियो । ठूलो उद्देश्य बोकेर आयोजना गरिएको महोत्सवमा प्रमुख अतिथि नै भोकै अर्को होटल खोज्दै हिँड्नुपर्ने अवस्था सिर्जना हुनु आयोजक पक्षका लागि गम्भीर कमजोरीका रूपमा हेरिएको छ । जसोतसो अर्को स्थानमा लगेर अतिथिहरूलाई खाना खुवाइए पनि कार्यक्रम स्थलको व्यवस्थापन पक्ष अझै कमजोर देखिएको सहभागीहरूको भनाइ छ ।
टेन्ट व्यवस्थापनको जिम्मा पाएका पक्षले प्रमुख अतिथि कार्यक्रम स्थल पुगिसक्दा समेत टेन्ट तथा साउण्ड सिस्टम पूर्ण रूपमा तयारी अवस्थामा राख्न सकेका थिएनन् । परिणामस्वरूप ठूलो कार्यक्रमको उद्घाटन नै सानो स्पिकरको भरमा सञ्चालन गर्नुपर्ने अवस्था सिर्जना भयो । उद्घोषकले बोलेका कुरा नजिकै बसेका प्रमुख अतिथिहरूले समेत स्पष्ट रूपमा सुन्न नसक्ने अवस्था रहनुले व्यवस्थापनको स्तर कति कमजोर थियो भन्ने सहजै अनुमान गर्न सकिन्छ । चिसो मौसम, निरन्तर चलिरहेको हावा र आधारभूत व्यवस्थापनको अभावका कारण कार्यक्रम स्थल पुगेका धेरै स्थानीयवासी, सर्वसाधारण तथा अतिथिहरू उद्घाटन सत्र नै नसकी बीचमै फर्किन बाध्य भएका थिए ।
दुर्गम क्षेत्रको धार्मिक तथा पर्यटकीय सम्भावनालाई राष्ट्रियस्तरमा चिनाउने लक्ष्य राखिएको कार्यक्रममै सहभागीहरू असहज अनुभवसहित फर्किनु दुर्भाग्यपूर्ण मानिएको छ ।
त्रियुगा नगरपालिका, रौतामाई गाउँपालिका तथा कोशी प्रदेश सरकारको समेत आर्थिक सहयोगमा आयोजना गरिएको महोत्सवबाट क्षेत्रीय पर्यटन प्रवर्द्धन, स्थानीय अर्थतन्त्र सुदृढीकरण तथा धार्मिक पर्यटनको विस्तार गर्ने अपेक्षा गरिएको थियो । तर उद्घाटन सत्रमै देखिएको कमजोर समन्वय, तयारी अभाव, अतिथि व्यवस्थापनमा लापरबाही, साउण्ड तथा टेन्ट व्यवस्थापनको कमजोरीजस्ता पक्षहरूले व्यवथापनको कार्यक्षमतामाथि गम्भीर प्रश्न उठाएको छ ।
यस्तो प्रकृतिको बृहत् कार्यक्रम केवल घोषणा र औपचारिकताले सफल नहुने भन्दै स्थानीय सरोकारवालाहरूले भविष्यमा यस्ता कार्यक्रम आयोजना गर्दा योजनाबद्ध तयारी, जिम्मेवारीको स्पष्ट बाँडफाँड, समय व्यवस्थापन र आधारभूत संरचनाको सुनिश्चितता अनिवार्य रूपमा गर्नुपर्ने बताएका छन् । अन्यथा पर्यटन प्रवर्द्धनको नाममा आयोजना गरिने कार्यक्रमहरूले अपेक्षित सन्देश दिनुको सट्टा नकारात्मक प्रभाव पार्ने जोखिम रहने उनीहरूको भनाइ छ ।
रौता पोखरीजस्तो धार्मिक, ऐतिहासिक र प्राकृतिक महत्व बोकेको स्थललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन गन्तव्यका रूपमा विकास गर्न सकिने पर्याप्त सम्भावना भए पनि यस्ता कमजोर व्यवस्थापनले त्यस सम्भावनालाई कमजोर बनाउने खतरा रहेको देखिएको छ । सम्बन्धित पक्षले यस घटनाबाट गम्भीर पाठ सिक्दै आगामी कार्यक्रमहरू थप जिम्मेवार र प्रभावकारी ढंगले सञ्चालन गर्ने अपेक्षा गरिएको छ ।















प्रतिक्रिया