२८ असार २०८३, आइतबार

आर्टेमिस–२ का अन्तरिक्षयात्री पृथ्वीमा अवतरण गर्दै

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आर्टेमिस–२ मिसनका चार सदस्य पृथ्वीमा अवतरण गर्दै छन् । उनीहरू पृथ्वीको वायुमण्डलमा पुनः प्रवेश गरी सान डिएगो तटनजिकै प्रशान्त महासागरमा अवतरण गर्ने तयारीमा छन् ।

स्थानीय समयअनुसार अप्रिल १०, राति ८ बजेपछि प्रशान्त महासागरमा ‘वाटर ल्यान्डिङ’ हुनेछ ।

पानीमा गरिने यो अवतरणले ‘ओरायन क्याप्सुल’ सुरक्षित रूपमा अवतरण गर्न मद्दत पु¥याउने बताइएको छ । यस कार्यमा अमेरिकी नौसेनाका जहाज र गोताखोरहरू परिचालन गरिनेछ ।

अन्तरिक्ष यात्रीहरूलाई क्याप्सुलबाट बाहिर निकालेर नौसेनाको जहाजमा लगिनेछ र स्वास्थ्य परीक्षणपछि उनीहरूलाई ह्युस्टनस्थित नासाको ‘जोनसन स्पेस सेन्टर’मा फर्काइनेछ ।

यस मिसनको सफल फिर्तीले आर्टेमिस–३ का लागि मार्ग प्रशस्त गर्नेछ, जसको उद्देश्य मानवलाई पुनः चन्द्रमाको सतहमा अवतरण गराउनु रहेको बताइएको छ । यदि यो फिर्ती सुरक्षित नभए, नासाले मानवसहितको चन्द्रमा अवतरण प्रक्रिया अगाडि नबढाउने बताइएको छ ।

यस सफल फिर्तीले चन्द्रमाभन्दा टाढाको अन्तरिक्षबाट अन्तरिक्षयात्रीलाई सुरक्षित रूपमा पृथ्वीमा ल्याउन सकिन्छ भन्ने नासाको क्षमता प्रमाणित गर्नेछ ।

यो ५६ वर्षअघि भएको ‘अपोलो १३’ मिसनपछिकै सबैभन्दा तीव्र गति र उच्च तापक्रमको ‘क्रुड रिइन्ट्री’ हुने समाचारमा उल्लेख गरिएको छ ।

आर्टेमिस–२ का चालकदलले मानव इतिहासमै अन्तरिक्षमा सबैभन्दा टाढा पुग्ने कीर्तिमान तोडेर विश्वको ध्यान आकर्षित गरिसकेका छन् ।

तर, चन्द्रमाको परिक्रमा गर्नु मात्र नभई, पृथ्वीमा पुनः प्रवेश गर्नु नै यस मिसनको सबैभन्दा जोखिमपूर्ण र महत्त्वपूर्ण चरण मानिएको छ । यस प्रक्रियामा सबै प्रणालीले पूर्ण रूपमा काम गर्नुपर्ने हुन्छ । किनकि, यसलाई सफल बनाउन उनीहरूसँग केवल एउटा अवसर मात्र उपलब्ध हुनेछ ।