२ श्रावण २०८३, शनिबार

चाँदी नदी पुल ९ वर्षदेखि अधुरै

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

–दिपेश पौडेल

रौतहट । गैंडाटारका स्थानीयको आँखा ओभाएको छैन । हरेक वर्षातमा उनीहरूको मनमा एउटै त्रास हुन्छ– चाँदी नदी कसरी तर्ने ? चन्द्रनिगाहपुरसँग जोड्ने लाइफलाइन मानिएको चाँदी नदीको पुल सम्झौता भएको ९ वर्ष बितिसक्दा पनि अधुरै छ । ४६९ मिटर लामो यो पुल अहिले विकासको स्मारक होइन, राज्यको लाचारी र ठेकेदारको लापरबाहीको प्रतीक बनेको छ ।

२०७३ साल पुसमा पप्पु शिव शंकर जेभीले २५ करोड ३६ लाखभन्दा बढीको लागतमा निर्माण गर्ने गरी ठेक्का लियो । २०७६ असारसम्म काम सकिनुपर्ने थियो, तर आज २०८२ सालको संघारमा पुग्दा पनि ११ वटा स्पाम भएको यो पुल अपूरै छ । यो ९ वर्षको अवधिमा स्थानीयले विकासका नाममा पाए त केवल आश्वासन, म्याद थपको चिठी, र नदी तर्दा ज्यान गुमाउनुपरेको पीडा ।

कहिले कोरोनाको बहाना त कहिले आर्थिक अभावको राप । ठेकेदारले पटक–पटक म्याद थप गरायो, तर कार्यस्थलमा न मेसिन देखिन्छन्, न त कामदारको चहलपहल । पुल अलपत्र परेपछि स्थानीयले अनसनदेखि आन्दोलनसम्म गरे, तर उनीहरूको आवाज कसैले सुनेन । कयौंले बिरामी अवस्थामा अस्पताल पुग्न नपाएर यही नदीको तीरमा छटपटिँनु पर्‍यो । कति विद्यार्थी परीक्षा दिन जान नपाएको पीडामा रहेका ती परिवारको आँसु पुछ्ने कोही छैन ।

यसैबीच, जेनजी युवा अगुवा करण देवकोटाले अबको ढिलाइ सह्य नहुने चेतावनी दिएका छन् । उनले भने, ‘यो केवल सिमेन्ट र रडको संरचना होइन, यो हजारौं मानिसको जीवन र सुरक्षाको सवाल हो । स्थानीय, प्रदेश र संघीय सरकारले यसलाई अब प्राथमिकतामा राख्नैपर्छ ।’

तत्कालीन मन्त्रीदेखि उच्च पदस्थ व्यक्तिले अनुगमन गरेर निर्देशन दिए पनि पुलको अवस्था जस्ताको तस्तै रहनुले प्रणालीमाथि प्रश्न उठाएको छ । कहिलेसम्म गैंडाटारवासीले एउटा पुलकै लागि ज्यानको बाजी लगाइरहनुपर्ने ? के राज्यको कानसम्म यी पीडित जनताको चित्कार पुग्ला ?