काठमाडौं । नायिका प्रियंका कार्की र गायक दुर्गेश थापाले चलचित्र ‘मास्टर्नी’ को प्रमोशनल गीत हटाएका छन् ।
गीतमा शिक्षण पेसा र शिक्षकहरूको मानमर्दन हुने खालका शब्द र दृश्यहरू राखिएको भन्दै शिक्षक महासंघले विरोध जनाएको थियो । चौतर्फी विरोधपछि प्रियंका र दुर्गेशले माफी माग्दै गीत युट्युवबाट हटाएका हुन् ।
चलचित्रको निर्मात्री समेत रहेकी प्रियंकाले आफ्नो पहिलो निर्माण प्रयासमा कसैको आस्था वा सम्मानमा ठेस पुर्याउने नियत नरहेको बताउँदै अन्जानमा गल्ती भएको स्वीकारेकी छिन् । उक्त गीत चलचित्रको प्रचारका लागि मात्रै बनाइएको उनले स्पष्ट पारिन् ।
त्यसैगरी, गायक दुर्गेशले पनि गल्ती भएको स्वीकार गर्दै आफूहरुको उद्देश्य कुनै पनि पेसा वा व्यक्तिको भावनामा चोट पुर्याउने नभएको स्पष्ट पारे ।
उनले लेखेका छन्, ‘हाम्रो उद्देश्य कुनै पनि पेसा वा व्यक्तिको भावनामा चोट पुर्याउने कदापि थिएन । तर, प्राप्त सुझाव र आलोचनालाई आत्मसात् गर्दै मैले आफ्नो युट्युब च्यानलबाट उक्त गीत आधिकारिक रूपमा हटाइसकेको छु,’।








प्रतिक्रिया