काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक उच्च अंकले बढेर बन्द भएको छ । पछिल्ला दिनमा सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा व्यवसायीहरू पक्राउ पर्न थालेपछि प्यानिक बनेको शेयर बजारमा अर्थमन्त्री स्वर्णिम वाग्लेको आश्वासनपछि सुधार देखिएको हो ।
आइतबार १०० अंक भन्दा बढीले घटेको बजारलाई स्थिर बनाउन आज बिहान स्टक ब्रोकर एशोसिएसनका प्रतिनिधिहरूले अर्थमन्त्री वाग्लेलाई भेटेका थिए । भेटका क्रममा उनले सरकार निजी क्षेत्र तथा पूँजीबजारप्रति सकारात्मक रहेको स्पष्ट पार्दै इन्साइडर ट्रेडिङ, म्यानिपुलेसनजस्ता अनैतिक गतिविधिमा संलग्न नभए डराउनुपर्ने अवस्था नरहेको बताएका थिए । यही सन्देशले लगानीकर्तामा विश्वास बढाएको विश्लेषकहरूको भनाइ छ ।
सोमबार नेप्से परिसूचक ८३.३३ अंकले बढेर २७६०.०२ विन्दुमा पुगेको छ । सेन्सेटिभ इण्डेक्स १४.३० अंकले उकालो लागेको छ भने फ्लोट इण्डेक्स ६.०१ र सेन्सेटिभ फ्लोट इण्डेक्स ५.०३ अंकले वृद्धि भएको छ ।
यद्यपि बजार बढे पनि कारोबार रकम अघिल्लो दिनको तुलनामा घटेको छ । आइतबार १२ अर्ब ३८ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा सोमबार १० अर्ब ९२ करोड ८५ लाख रुपैयाँमा सीमित रह्यो । यस दिन ३४५ कम्पनीका २ करोड ५१ लाखभन्दा बढी कित्ता शेयर १ लाख २४ हजारभन्दा बढी पटक किनबेच भएका छन् ।
कारोबारका क्रममा ८ कम्पनीका शेयर सकारात्मक सर्किट लेभलमा पुगेका छन् । कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स शीर्ष स्थानमा रहँदा हिमालयन रि इन्स्योरेन्स र एनआरएन इन्फ्रास्ट्रक्चर क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे ।
यस दिन सबै १३ उपसमूहका परिसूचक उकालो लागेका छन्। जलविद्युत उपसमूह सबैभन्दा धेरै ४.५९ प्रतिशतले बढ्दा वित्त, बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन र लगानी समूहमा पनि उल्लेख्य सुधार देखिएको छ ।










प्रतिक्रिया