–टेकराज पौडेल
अबको समय केवल पार्टीभित्रको सामान्य सुधारको होइन, एउटा गहिरो वैचारिक पुनर्जागरणको माग गरिरहेको छ । कम्युनिस्ट आन्दोलनको इतिहास हेर्दा स्पष्ट देखिन्छ– यो आन्दोलन व्यक्तिको महत्वाकांक्षाबाट होइन, वर्गीय चेतना, त्याग र श्रमबाट निर्माण भएको हो । तर आजको यथार्थले प्रश्न उठाएको छ– के हामी अझै त्यही मूल बाटोमा छौँ, वा सत्ताको मोहले बाटो बिराएका छौँ ?
मेरो दृष्टिकोणमा, पार्टी निर्माणको नयाँ सुरुवात ‘सत्ता केन्द्रित राजनीति’को अन्त्य र ‘सेवा केन्द्रित राजनीति’को पुनर्स्थापनाबाट हुनुपर्छ । मार्क्सवादी दर्शनले राजनीतिलाई वर्ग संघर्षको औजार मान्छ, जहाँ श्रमजीवी वर्गको मुक्ति नै अन्तिम लक्ष्य हुन्छ। तर जब त्यही पार्टीभित्र गुट, सड्यन्त्र र व्यक्तिगत स्वार्थ हावी हुन्छ, त्यतिबेला त्यो आन्दोलन आफ्नो मूल चरित्रबाट विचलित हुन्छ । त्यसैले अबको पहिलो आवश्यकता–आन्दोलनलाई पुनः वैचारिक शुद्धतामा फर्काउनु हो ।
इतिहासलाई निष्पक्ष रूपमा लेख्नु पनि क्रान्तिकारी काम हो । पार्टी निर्माणमा जीवन अर्पण गर्ने, जेलनेल सहने, आफ्नो परिवार र व्यक्तिगत सुख त्याग्ने कार्यकर्ताहरूलाई स्वर्णिम अक्षरमा लेख्नुपर्छ । उनीहरू नै आन्दोलनका वास्तविक नायक हुन् । यसको विपरीत, सत्तामा पुग्नका लागि षड्यन्त्र गर्ने, संगठनलाई निजी स्वार्थका लागि प्रयोग गर्ने र अस्वाभाविक रूपमा सम्पत्ति आर्जन गर्नेहरूलाई इतिहासले कठोर रूपमा मूल्यांकन गर्नुपर्छ। यो केवल नैतिकताको प्रश्न होइन, आन्दोलनको भविष्यसँग जोडिएको विषय हो ।
राजनीतिलाई ‘पद प्राप्ति’को माध्यम होइन, ‘समाज परिवर्तन’को अभियानका रूपमा बुझ्नुपर्ने बेला आएको छ । मन्त्री, सांसद, मेयर बन्ने चाहना स्वाभाविक हुन सक्छ, तर यदि त्यो चाहनाले विचारलाई ओझेलमा पार्छ भने त्यो खतरनाक हुन्छ ।
राजनीतिलाई ‘पद प्राप्ति’को माध्यम होइन, ‘समाज परिवर्तन’को अभियानका रूपमा बुझ्नुपर्ने बेला आएको छ । मन्त्री, सांसद, मेयर बन्ने चाहना स्वाभाविक हुन सक्छ, तर यदि त्यो चाहनाले विचारलाई ओझेलमा पार्छ भने त्यो खतरनाक हुन्छ । राज्यसत्ता मार्क्सवादी दृष्टिमा केवल साधन हो– अन्तिम लक्ष्य होइन । यदि हामीले सत्तालाई लक्ष्य बनायौँ भने, हामी अनिवार्य रूपमा वर्गीय विचलनतर्फ जानेछौँ ।
अर्को महत्वपूर्ण प्रश्न– नेतृत्वको पुस्तान्तरण हो । ५० वर्षभन्दा माथिका नेताहरूले अब सक्रिय कमाण्डबाट क्रमशः बाहिरिएर नयाँ पुस्तालाई अवसर दिनुपर्छ । यो कुनै अपमान होइन, बरु ऐतिहासिक जिम्मेवारी हो । विगतमा पनि युवा नेतृत्वले नै आन्दोलनलाई उचाइमा पुर्याएको थियो । आजको पुस्तालाई दोष दिनुभन्दा, अवसर नदिएकोमा आत्मालोचना गर्नु जरुरी छ । तर केवल उमेर कम हुनु नै पर्याप्त छैन । नयाँ पुस्ता वैचारिक रूपमा स्पष्ट, नैतिक रूपमा दृढ र प्रविधिमा सक्षम हुनुपर्छ । आजको विश्वमा डिजिटल चेतना, सूचना प्रवाह र सामाजिक उत्तरदायित्व नयाँ राजनीतिक शक्तिका आधार बनेका छन् । त्यसैले पार्टीले नयाँ पुस्तालाई केवल नारामा होइन, व्यवहारमा पनि प्रशिक्षण दिनुपर्छ– सेवा, पारदर्शिता र आत्मनिर्भरता सिकाउनुपर्छ ।
पार्टीभित्र देखिएको सबैभन्दा ठूलो समस्या अवसरको असमान वितरण हो । केही व्यक्तिहरू बारम्बार सत्तामा पुग्ने, जबकी हजारौं कार्यकर्ताहरू सधै पर्खाइमा रहने अवस्था अन्यायपूर्ण मात्र होइन, खतरनाक पनि हो । यसले पार्टीभित्र नयाँ किसिमको ‘अभिजात वर्ग’ जन्माउँछ, जसले संगठनलाई आफ्नो नियन्त्रणमा राख्छ । यस्तो प्रवृत्तिले अन्ततः जनविश्वास कमजोर बनाउँछ । यही कारणले आज धेरै इमानदार कार्यकर्ताहरू निराश छन् । उनीहरू, जसले आफ्नो जीवनको महत्वपूर्ण समय पार्टीका लागि खर्च गरे, आज आफूलाई उपेक्षित महसुस गरिरहेका छन् । केहीले राजनीति नै छोडेका छन्, केहीले मौन विरोध जनाइरहेका छन्। यो अवस्था कुनै पनि क्रान्तिकारी आन्दोलनका लागि घातक संकेत हो ।
जनताले पनि अब विकल्प खोज्न थालेका छन् । उनीहरूको असन्तुष्टि केवल कुनै एक पार्टीप्रति होइन, समग्र राजनीतिक संस्कृतिप्रति हो । जब पुराना शक्तिहरूले अपेक्षा पूरा गर्न सक्दैनन्, नयाँ शक्तिहरूको उदय स्वाभाविक हुन्छ ।
जनताले पनि अब विकल्प खोज्न थालेका छन् । उनीहरूको असन्तुष्टि केवल कुनै एक पार्टीप्रति होइन, समग्र राजनीतिक संस्कृतिप्रति हो । जब पुराना शक्तिहरूले अपेक्षा पूरा गर्न सक्दैनन्, नयाँ शक्तिहरूको उदय स्वाभाविक हुन्छ । यो परिवर्तनलाई रोक्न सकिँदैन, तर सही दिशामा मोड्न सकिन्छ– यदि पुराना शक्तिहरूले आत्मसमीक्षा गर्न सक्ने साहस देखाए भने ।
अबको बाटो स्पष्ट छ– पार्टीलाई पुनः श्रम, त्याग र सेवाको आधारमा पुनर्निर्माण गर्नुपर्छ । नेतृत्वमा त्यस्ता मानिसहरू आउनुपर्छ, जसले विपद्मा जनताको साथ दिएका छन्, जसले समाजमा श्रम गरेका छन्, जसले व्यक्तिगत लाभभन्दा सामूहिक हितलाई प्राथमिकता दिएका छन् । जब पार्टी फेरि यस्ता मूल्यमा आधारित हुन्छ, तब मात्र जनताको विश्वास फर्किन्छ । राजनीति फेरि सम्मानजनक बन्छ । र तब मात्र सत्तामा पुगे पनि त्यो सत्ता जनताको सेवामा प्रयोग हुन्छ, न कि व्यक्तिगत स्वार्थमा ।
अन्ततः, यो केवल पार्टी बनाउने कुरा होइन– यो नयाँ राजनीतिक संस्कार निर्माण गर्ने अभियान हो । यदि हामीले यो अवसरलाई सही रूपमा उपयोग गर्न सकेनौँ भने इतिहासले फेरि कठोर प्रश्न गर्नेछ । तर यदि सफल भयौँ भने, यो केवल एउटा पार्टीको पुनर्जन्म होइन, सम्पूर्ण राजनीतिक संस्कृतिको रूपान्तरण हुनेछ ।








प्रतिक्रिया