–अन्जनी कुमार अधिकारी
उदयपुर । उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका–८ स्थित जयकला आधारभूत विद्यालयमा अहिले एउटा असाधारण कथा लेखिँदैछ । यो कथा हो ६१ वर्षीया रूपा राईको । जसले उमेरको सीमा तोड्दै अक्षर चिन्ने आफ्नो अधुरो सपना पूरा गर्ने यात्रालाई निरन्तर अगाडि बढाइरहेकी छन् । कक्षाकोठामा आफ्ना नातिनातिना उमेरका बालबालिकासँगै बसेर अध्ययन गरिरहेकी राई आज शिक्षा उमेरले रोक्दैन भन्ने ज्वलन्त उदाहरण बनेर उभिएकी छन् ।
सानो उमेरमा विद्यालय जान नपाएको पीडाले उनको मन लामो समयसम्म बेचैन रह्यो । गाउँघरमा डुल्दा, बजार जाँदा, बाटोका साइनबोर्ड हेर्दा वा कसैले कागज पढ्न दिँदा अक्षर चिन्न नसक्ने अवस्थाले उनलाई बारम्बार आत्मग्लानीको अनुभूति गरायो । “अरूले सजिलै पढेको देख्दा मलाई भित्रभित्रै धेरै दुख लाग्थ्यो, पढ्न पाएको भए कस्तो हुन्थ्यो भन्ने लागिरहन्थ्यो,” उनले सुनाइन् ।
यही पीडाले नै उनको जीवनमा नयाँ संकल्प जन्मायो । पाँच वर्षअघि साहस जुटाएर रूपा राई स्थानीय जयकला आधारभूत विद्यालय सिमलटारमा कक्षा १ मा भर्ना भइन् । त्यो निर्णय उनका लागि केवल विद्यालय प्रवेश मात्र थिएन, त्यो जीवन बदल्ने एउटा ऐतिहासिक कदम थियो । त्यसयता उनी निरन्तर अध्ययनमा जुटिरहेकी छन् र अहिले कक्षा ४ को वार्षिक परीक्षा दिइरहेकी छन् । आगामी वर्ष कक्षा ५ मा उक्लिने विश्वासले उनी झनै उत्साहित देखिन्छिन् ।
रूपाको विद्यालय यात्रा सामान्य छैन । बिहान सबेरै उठेर घरधन्दा, भान्साको कामकाज सबै सकेर उनी समयमै विद्यालय पुग्छिन् । विद्यालय पुगेपछि सातै घण्टी कक्षामा बसेर ध्यानपूर्वक अध्ययन गर्नु उनको नियमित बानी बनेको छ । विशेष कामबाहेक विद्यालय छुटाउने अवस्था कहिल्यै आउँदैन । “घरको काम सकिन्छ, तर पढाइ छुटाउनु हुँदैन भन्ने लाग्छ,” उनी दृढताका साथ भन्छिन् ।
कक्षा कोठामा उनका सहपाठीहरू अधिकांश आफ्नै नातिनातिना उमेरका छन् । सुरुका दिनमा उनीहरूसँग बसेर पढ्दा केही असहजता लागेको भए पनि अहिले सबैले माया र सम्मानका साथ ‘बजु’ भनेर सम्बोधन गर्ने गरेको उनी बताउँछिन् । शिक्षक–शिक्षिकाहरूले पनि उनको लगनशीलता र अनुशासनको खुलेर प्रशंसा गर्ने गरेका छन् । यसले उनलाई अझ आत्मविश्वासी बनाएको छ ।
विद्यालयका प्रधानाध्यापक गंगा मगरका अनुसार रूपा राई विद्यालयकै अनुकरणीय विद्यार्थीमध्ये एक हुन् । “उहाँको नियमित उपस्थिति, मेहनत र सिक्ने जाँगर अन्य विद्यार्थीका लागि प्रेरणादायी बनेको छ । उमेर ढल्किएको अवस्थामा पनि उहाँको उत्साह देख्दा हामी सबै शिक्षक–शिक्षिकाहरू प्रभावित छौं,” प्रधानाध्यापक मगरले बताए ।
रूपा राईको यो यात्रा केवल व्यक्तिगत उपलब्धि मात्र होइन, समाजका हजारौं अशिक्षित व्यक्तिहरूका लागि प्रेरणाको स्रोत बनेको छ । गाउँघरका धेरै महिला तथा ज्येष्ठ नागरिकहरू पनि उनीबाट प्रभावित हुँदै शिक्षा सुरु गर्ने सोच बनाउन थालेका छन् । शिक्षा कुनै उमेरको बन्देजमा सीमित हुँदैन भन्ने सन्देश उनले व्यवहारमै देखाइरहेकी छन् ।

उमेर ढल्किँदै जाँदा धेरै मानिसहरू विश्रामको जीवन रोज्ने गर्छन् । तर रूपा भने अक्षर चिन्ने, लेख्न सिक्ने र आफ्नो नाम आफैं लेख्नसक्ने आत्मसम्मानको यात्रामा दृढतापूर्वक अघि बढिरहेकी छन् । “ढिलो भए पनि पढ्न थालेँ, अब सकेसम्म पढिरहन्छु,” उनको यो दृढ भनाइले उनको आत्मबल झल्काउँछ ।
आज रूपा केवल एउटा विद्यालयकी विद्यार्थी मात्र होइन । उनी संघर्ष, आत्मविश्वास र निरन्तर प्रयासको प्रतीक बनेकी छन् । उनको कथा सबैका लागि प्रेरणा हो, जसले सिकाउँछ सपना पूरा गर्न कहिल्यै ढिलो हुँदैन, इच्छाशक्ति भए उमेरले कहिल्यै बाटो छेक्दैन ।








प्रतिक्रिया