काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले गैरआवासीय नेपाली संघ (एनआरएनए)का नवनिर्वाचित अध्यक्ष डा. हेमराज शर्मालाई बधाई तथा शुभकामना व्यक्त गरेकी छन् ।
प्रधानमन्त्री कार्कीले सोमबार साँझ आफ्नो औपचारिक फेसबुक पेजमार्फत डा. शर्माको नेतृत्वमा चयन भएको टोलीलाई सफल कार्यकालको शुभकामना दिएकी हुन् ।
प्रधानमन्त्री कार्कीले एकता र मेलमिलापभन्दा ठूलो शक्ति अरू केही नहुने बताउँदै गैरआवासीय नेपाली संघले आज एउटै मञ्च र एउटै ब्यानरमा सर्वसम्मत नेतृत्व चयन गरी अघि बढ्ने प्रण लिएको उल्लेख गरेकी छन् । उनले विश्वभर रहेका सम्पूर्ण गैरआवासीय नेपालीलाई बधाई दिँदै डा. शर्मा नेतृत्वको टोलीलाई सफल कार्यकालको शुभकामना व्यक्त गरिन् । यसअघि प्रधानमन्त्री कार्कीले गैरआवासीय नेपाली संघको १२ औं विश्व सम्मेलन तथा महाधिवेशनको समापन समारोहलाई सम्बोधन गरेकी थिइन् ।
डा. शर्मा गैरआवासीय नेपाली संघमा १३ वर्षपछि पहिलोपटक सर्वसम्मत रूपमा अध्यक्ष चयन भएका हुन् । काठमाडौंमा विगत तीन दिनदेखि जारी संघको १२ औं महाधिवेशनले नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ ।
सम्मेलनले १२ बुँदे घोषणापत्र पनि जारी गरेको छ ।








प्रतिक्रिया