काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधसम्बन्धी मुद्दा फिर्ता गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।
आइतबार उक्त मुद्दा हेर्न नभ्याएपछि अदालतले ‘हेर्दाहेर्दै’मा राख्दै आजका लागि सुनुवाइ तोकेको हो । न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले आइतबार मुद्दालाई हेर्दाहेर्दैमा राखेको थियो । यसअघि सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको संयुक्त इजलासले उक्त निवेदनलाई नियमित सुनुवाइका लागि आइतबार पेस गर्न आदेश दिएको थियो ।
महान्यायाधिवक्ता सविता भण्डारी बरालले अघिल्लो सरकारको पालामा लामिछानेविरुद्ध लगाइएका सम्पत्ति शुद्धीकरण तथा सङ्गठित अपराधसम्बन्धी मुद्दा फिर्ता गर्ने निर्णय गरेकी थिइन् । उक्त निर्णयविरुद्ध युवराज पौडेल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता आभास रेग्मीले सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट निवेदन दायर गरेका थिए ।








प्रतिक्रिया