–अन्जनी कुमार अधिकारी
उदयपुर । उदयपुरको बेलका नगरपालिका–२ मा ट्याक्टर पल्टिँदा चालकको ज्यान गएको छ । खेत जोत्न जाँदै गरेको ट्याक्टर उकालो चढ्ने क्रममा अनियन्त्रित भई पल्टिँदा चालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मंगलबार बिहान करिब १०ः२० बजे बानडाँडाबाट गिदेरीतर्फ खेत जोत्न जाँदै गरेको प्रदेश १–०४–००१ त १३३२ नम्बरको रोटाभेटर जडान गरिएको ट्याक्टर गिदेरी खोला नजिक उकालो चढ्ने क्रममा अनियन्त्रित भई पल्टिएको थियो ।
दुर्घटनामा परी ट्याक्टर चालक बेलका नगरपालिका–२ का सोकिन्दर चन्द्रवंशीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डिएसपी) निरञ्जन थापाले जानकारी दिए ।
घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो । प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाएको जनाएको छ ।
प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।








प्रतिक्रिया