२९ जेष्ठ २०८३, शुक्रबार

मतदाताको उत्साहले जित सुनिश्चित छ : एमाले उम्मेदवार राना

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा । प्रतिनिधि सभा निर्वाचनको मिति नजिकिँदै गर्दा नेकपा (एमाले)का तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ का उम्मेदवार रामेश्वर रानाले चुनावी घरदैलो कार्यक्रमलाई तीव्रता दिएका छन् । शुक्रबार (आज) उनले यस क्षेत्रमा पर्ने हेटौंडा उपमहानगरपालिका–४ र १० नम्बर वडाका मतदातामाझ पुगेर भेटघाट गरेका हुन् ।

हेटौंडा–४ कर्राचोकबाट सुरु भएको घरदैलो कार्यक्रममा रानाले स्थानीयसँग प्रत्यक्ष संवाद गरेका हुन् । एमालेका शालीन नेताका रूपमा परिचित रानाको उपस्थितिले मतदातामा उत्साह थपिएको स्थानीयको भनाइ छ । आजै दिउँसो हेटौंडा–१० न्यरेनी, भुटनदेवी रोड, बसपार्क लगायत क्षेत्रमा पुगेका रानालाई घडा थापेर, फूलमाला र टीका लगाएर स्वागत गरिएको थियो ।

मतदाता भेटघाटका क्रममा रानाले मकवानपुर क्षेत्र नम्बर १ मा एमालेकै जित सुनिश्चित रहेको दाबी गरे । आफ्नो उम्मेदवारीप्रति देखिएको उत्साह नै जितको बलियो आधार भएको उनले बताए ।

“म घरदैलोमा पुग्दा मतदाताहरू हातमा माला र अबिर बोकेर ढोकामा कुरेर बस्नुभएको हुन्छ,” उनले भने, “मतदाताको मायाले नै उम्मेदवार जित्छ । मलाई देखाइएको माया, सद्भाव र साथले एमाले विजयी हुन्छ भन्नेमा कुनै दुविधा छैन ।”

रानाले पछिल्लो समय केही निर्वाचन क्षेत्रमा नयाँ पार्टीको चर्चा चले पनि मकवानपुरमा त्यस्तो अवस्था नरहेको जिकिर गरे । कसैले नचिनेका अनुहार, मतदातामाझ आफ्नो एजेण्डा स्पष्ट रूपमा प्रस्तुत गर्न नसक्ने र भूगोल नबुझेका उम्मेदवारलाई मकवानपुरवासीले मत नदिने उनको भनाइ छ ।

मकवानपुर–१ अन्तर्गतका वडाहरूमा भ्रमण गर्दा एमालेको माहोल सकारात्मक रहेको उनले बताए । २०७९ को प्रतिनिधि सभा निर्वाचनमा तत्कालीन उम्मेदवार कमल थापालाई एमालेले दिएको मत परिणामलाई आधार बनाएर अरू दलले जित्ने भ्रम फैलाए पनि त्यसले कुनै असर नपर्ने उनको तर्क छ । मकवानपुरको विकासका लागि आफूले गरेको योगदानलाई मतदाताले मूल्यांकन गर्ने विश्वास व्यक्त गर्दै उनले सूर्य चिन्हमा मतदान गर्न आग्रह गरे ।

रामेश्वर राना नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला इञ्चार्ज समेत हुन् । पञ्चायतकालदेखि विभिन्न तहमा सक्रिय रहँदै आएका राना बौद्धिक, शालीन र बेदाग छविका नेताका रूपमा परिचित छन् ।

कार्यक्रममा रानाले आगामी पाँच वर्षसम्म आफ्नो मतको कदर गर्ने प्रतिबद्धतासहित सूर्य चुनाव चिन्हमा मतदान गर्न अपिल गरे ।