१ श्रावण २०८३, शुक्रबार

सबइन्जिनियर हत्या प्रकरण : एक जना भारतबाट पक्राउ

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सर्लाही । सर्लाहीको मलंगवास्थित पूर्वाधार विकास कार्यालयमा कार्यरत सबइन्जिनियर प्रमोदकुमार यादवको हत्या प्रकरणमा प्रहरीले एक जनालाई भारतबाट पक्राउ गरी नेपाल ल्याएको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार पक्राउ पर्नेमा महोत्तरीको रामगोपालपुर नगरपालिका निवासी गणेश महतो रहेका छन् । उनलाई घटनामा संलग्न भएको आशंकामा नियन्त्रणमा लिइएको हो । उनलाई भारतीय पक्षसँगको समन्वयमा पक्राउ गरी नेपाल ल्याइएको प्रहरीले जनाएको छ ।

सिरहाको सुखीपुर नगरपालिका–६ बैशाखा घर भई हाल मलंगवामा डेरा गरी बस्दै आएका यादवमाथि गत फागुन ३ गते डेरामा बसिरहेको घरमै अज्ञात व्यक्तिले गोली प्रहार गरेर फरार भएका थिए ।

गम्भीर घाइते भएका उनलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो । उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार महतोले भारतीय ‘सुटर’ प्रयोग गरी हत्या गराएको हुनसक्ने आशंका गरिएको छ । मृतक यादव र महतो दुवै लोकसेवा आयोगमार्फत एउटै पदका प्रतिस्पर्धी रहेको खुलेको छ ।

सरकारी सेवामा नियुक्ति प्रक्रियासँग जोडिएको विषय नै घटनाको कारण हुनसक्ने भन्दै प्रहरीले सोही कोणबाट अनुसन्धान अघि बढाएको जनाएको छ ।

पक्राउ परेका महतोमाथि थप अनुसन्धान गर्न जिल्ला अदालतबाट १५ दिनको म्याद थप गरिएको छ । आज दिउँसो पत्रकार सम्मेलन गरेर घटनाको विस्तृत विवरण सार्वजनिक गरिने जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।