दमक । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज झापाको दमकमा विद्यार्थीसँग छलफल गर्ने भएका छन् ।
आज बिहान ११ बजे दमकस्थित होटल कोरोनेशनमा यस क्षेत्रका विभिन्न कलेज तथा विद्यालयका विद्यार्थीसँग छलफल गर्ने कार्यक्रम तय भएको हो । निर्वाचन लक्षित भेटघाटको क्रममा आज पहिलो कार्यक्रम विद्यार्थीहरुसँग छलफल गर्ने रहेको जनाइएको छ ।
झापा निर्वाचन क्षेत्र नम्बर ५ एमाले निर्वाचन प्रचार उपसमितिका संयोजक इन्द्र भण्डारीका अनुसार विद्यार्थीहरुका अहिलेका समस्या तथा जिज्ञासा सुन्ने छलफलमा उठेका विषयमाथि अध्यक्ष ओलीले अन्तरक्रिया गर्नेछन् । कार्यक्रममा यस क्षेत्रका लगभग ३ सय बढी विद्यार्थी सहभागि रहने अनुमान गरिएको छ । दमकमा विद्यार्थीहरुसँगको कार्यक्रम सपन्न गरेलगत्तै अध्यक्ष ओली आज दिनभर नै झापाको गौरादह नगरपालिकाअन्तर्गतका विभिन्न स्थानमा मतदातासँग भेटघाटमा पुग्ने कार्यक्रम रहेको जनाइएको छ ।
घोषित कार्यक्रम अनुसार गौरादह नगरपालिका–४ को खाङ्टामा पुगेर साढे १ बजे स्थानीयसँग भेटघाटको कार्यक्रम रहेको छ । कार्यक्रमपछि अध्यक्ष ओलीले सोही वडाको मियाँ टोलीमा पुगेर भेटघाट गर्नेछन् । भेटघाटको क्रममा स्थानीयका समस्या सुन्ने र समाधानको विषयमा अध्यक्ष ओलीले जवाफ दिने कार्यक्रम रहेको छ ।
मियाँ टोलीको भेटघाटपछि अध्यक्ष ओलीले सोही वडाअन्तर्गत ३ बजे दुर्गाचौक मजुवा पुगेर मतदातासँग छलफल गर्नेछन् । यसरी नै साढे ३ बजे फकिरढिपमा भेटघाट गर्ने कार्यक्रम रहेको जनाइएको छ । समूहगत रुपमा भेटघाट गर्ने कार्यक्रममा स्थानीय बासिन्दाका समस्या, गुनासो सुन्ने समाधानका विषयमा अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
आफ्नो निर्वाचन क्षेत्रका टोलटोलमा पुगेर अध्यक्ष ओलीले मसिनो गरी जनताका कुरा सुन्ने र आफ्नो धारणा राख्दै आएका छन् ।









प्रतिक्रिया