२६ असार २०८३, शुक्रबार

राप्रपा उदयपुरका पूर्वसचिव अमिरबाबु थापा एमालेमा प्रवेश

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

–अन्जनी कुमार अधिकारी

उदयपुर । आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको माहोल तातिँदै जाँदा उदयपुरको राजनीतिक वृत्तमा नयाँ हलचल देखिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) उदयपुर जिल्ला कमिटीका पूर्वसचिव अमिरबाबु थापा नेकपा (एमाले)मा प्रवेश गरेका हुन् ।

बुधबार एमाले चौदण्डीगढी नगर कमिटी तथा चुनाव प्रचारप्रसार समितिको आयोजनामा आयोजित चुनाव लक्षित घरदैलो कार्यक्रममा थापा औपचारिक रूपमा एमाले प्रवेश गरेका हुन् । लामो समयदेखि राप्रपाको सक्रिय राजनीतिमा रहँदै आएका थापा स्थानीयस्तरमा प्रभावशाली युवा नेताका रूपमा परिचित छन् ।

एमाले उदयपुर क्षेत्र नम्बर १ का प्रतिनिधिसभा उम्मेदवार दुर्गाकुमार थापा (स्वस्ती), समानुपातिक सांसद कान्ता राई, एमाले उदयपुरका उपाध्यक्ष कालुमान लामा लगायतका नेताहरूले उनलाई टीका–खादा लगाएर पार्टीमा स्वागत गरेका थिए ।

कार्यक्रम पश्चात् छोटो प्रतिक्रिया दिँदै नेताहरूले थापाको आगमनले पार्टीलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका थिए ।

एमाले प्रवेशपछि प्रतिक्रिया दिँदै अमिरबाबु थापाले देशमा देखिएको राजनीतिक अस्थिरता अन्त्य गर्दै विकास र समृद्धिको मार्गमा अघि बढ्न एमाले सक्षम शक्ति रहेको उल्लेख गरे । उनले जनताको अपेक्षा अनुसार सुशासन, विकास निर्माण र स्थायित्वका लागि आफू एमालेको अभियानमा समर्पित भएर लाग्ने प्रतिबद्धता जनाए ।

चुनावी सरगर्मी बढ्दै गएको उदयपुरमा पछिल्लो समय विभिन्न दल परित्याग गरी नेताहरू अन्य दलमा प्रवेश गर्ने क्रम जारी छ । विश्लेषकहरूका अनुसार स्थानीय तहदेखि संघीय निर्वाचनसम्म प्रभाव पार्ने नेताहरूको दल परिवर्तनले निर्वाचनको समीकरणमा प्रत्यक्ष असर पार्ने देखिएको छ ।

एमालेले भने चुनाव लक्षित घरदैलो कार्यक्रम, भेटघाट तथा संगठन विस्तारलाई तीव्र बनाउँदै लगेका कारण पार्टीप्रति आकर्षण बढेको दाबी गरेको छ । थापाको प्रवेशलाई एमालेले आगामी निर्वाचनका लागि सकारात्मक संकेतका रूपमा लिएको छ ।

उदयपुरमा पुराना र नयाँ राजनीतिक शक्तिबीच प्रतिस्पर्धा चर्किँदै जाँदा यस्ता राजनीतिक घटनाक्रमले चुनावी माहोल थप रोचक बन्दै गएको छ ।