१६ असार २०८३, मंगलबार

उदयपुरमा निर्वाचन लक्षित अनुगमन तीव्र

560
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

–अन्जनी कुमार अधिकारी

उदयपुर । आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई शान्त, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले उदयपुर जिल्लामा सुरक्षा अनुगमन कार्य तीव्र पारिएको छ ।

जिल्ला स्तरीय सुरक्षा समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीको नेतृत्वमा जिल्लाभर सुरक्षा अनुगमन तथा निरीक्षण कार्य सञ्चालन भइरहेको छ । अनुगमनका क्रममा राजनीतिक दल र उम्मेदवारहरूले निर्वाचन आचारसंहिता पालना गरे–नगरेको विषयमा विशेष ध्यान दिइएको प्रशासनले जनाएको छ । आचारसंहिता उल्लङ्घन गरेको पाइएमा सम्बन्धित पक्षलाई तत्काल सचेत गराउँदै उल्लङ्घन नगर्न निर्देशन दिइँदै आएको छ ।

प्रमुख जिल्ला अधिकारी जोशीका अनुसार हालसम्म जिल्लाका ४७ वटा मतदान स्थल तथा १४६ वटा मतदान केन्द्रको निरीक्षण अनुगमन सम्पन्न भइसकेको छ । उनले अनुगमन तथा निरीक्षण कार्यलाई अझ प्रभावकारी र तीव्र बनाइने जानकारी दिए ।

अनुगमन टोलीमा जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक राजन चापागाईँ, सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ हेडक्वाटरका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक श्याममणि ढकाल, राष्ट्रिय अनुसन्धान विभागका उपनिर्देशक तुलसी कट्टेल तथा नेपाली सेनाको पशुपति प्रसाद गण, गाईघाटका सेनानी प्रमोद अधिकारीलगायत सुरक्षा निकायका उच्च अधिकारीहरूको सहभागिता रहेको छ ।

यस्तै, नेपाली सेनाले उदयपुरका आठवटै स्थानीय तहमा निर्वाचन लक्षित पेत्रोलिङ गस्तीलाई समेत तीव्र बनाएको छ ।

उदयपुर जिल्लामा दुई वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेका छन् । निर्वाचन क्षेत्र नं. १ मा ३५ वटा वडा, ५२ मतदान स्थल र १६० मतदान केन्द्र रहेका छन् भने निर्वाचन क्षेत्र नं. २ मा ४० वटा वडा, ५१ मतदान स्थल र ११५ मतदान केन्द्र निर्धारण गरिएको छ ।

प्रशासनले निर्वाचनलाई लक्षित गर्दै जिल्लाभर सुरक्षा व्यवस्था चुस्त बनाइएको उल्लेख गर्दै आम मतदातालाई निर्धक्क भई मतदान प्रक्रियामा सहभागी हुन आग्रह गरेको छ ।